पछिल्लो अपडेट
Showing posts with label लेख/स्तम्भ. Show all posts
Showing posts with label लेख/स्तम्भ. Show all posts

Monday, September 1, 2014

नेपाललाई धनी बनाउन यसो गरौं - डा. गोपाल शिवाकोटी ‘चिन्तन’


    प्रत्येक देश धनी हुने आआफ्ना तरिका हुन्छन् । पश्चिमा मुलुक र जापानले युद्ध र उपनिवेशबाट आफ्नो औद्योगिकीकरण गरे । अरब मुलुकहरूले प्रकृतिकको बरदानस्वरूप पेटोलियम पदार्थ पाए । चीनले श्रमशक्तिको सदुपयोग ग¥यो । सिङ्गापुरले सूचना प्रविधिको सहारा लियो । मलेशियाले प्राकृतिक स्रोतको सक्दो उपयोग ग¥यो, गरिरहेको छ । बेलायतलाई ह्वीस्कीले चिनायो त फ्रान्सलाई वाइनले । स्वीट्जरल्यान्डलाई चकलेट र चक्कुले चिनायो त नेदरल्यान्डस्लाई चीज र फूलको व्यापारले । हामी भने जल, जङ्गल, जमीन, उर्जा, हिमाल, जनशक्ति र बाहैकाल बाह्रै किसिमको मौसम भएर पनि कुनै पनि क्षेत्रमा केही गर्न नसक्ने भएझैँ थला परेर बसेका छौँ । जलविद्युत तथा अन्य वैकल्पिक ऊर्जाको अधिकतम् विकास नगरेसम्म न शुद्ध खानेपानी न सिँचाइ, न वैज्ञानिक खेतिपाती न सुरक्षिण भण्डारण, न पर्यटन र न उद्योगधन्दाहरूमा दशाँै लाख युवाहरूको उत्पादनशील सहभागिता । त्यसपछि त कृषिजन्य वस्तुदेखि सामान्य दैनिक उपभोग्य वस्तुको समेत आयातैआयात । आयातलाई घटाएर निर्यातलाई बढाउनका लागि विद्युत्का प्राथमिक महत्वलाई हामीले आजसम्म उचित स्थान दिएनौँ । नेपालका अथाह जलस्रोतलाई हामीले सम्पदाका रूपमा भन्दा पनि भारको रूपमा लियौँ । जलस्रोतलाई सित्तैमा बगेर खेर गइरहेको वस्तुका रूपमा व्यवहार गर्दै यसलाई जसले जतिमा जे जसरी लैजान्छ लैजाओस् भन्ने नीति अख्तियार ग¥यौँ । जलस्रोत, जलविद्युत र वैकल्पिक ऊर्जा क्षमतालाई हामीले ह्वीस्की, वाइन, चकलेट, चक्कु र चीजको जति पनि मान्यता दिएनौँ । यद्यपि हाम्रो जलस्रोत भनेको पेटोलियम पदार्थसरहको अर्थात् त्यसभन्दा पनि दीर्घकालिन र महत्वपूर्ण स्रोत हो भन्ने हेक्का राखेनौँ । यसलाई सेतो सुनका रूपमा बुझेनौँ । अहिले भने हामी एकातिर पछुताइरहेका छौँ भने अर्कोतिर अब कसरी जलस्रोत तथा ऊर्जाको विकास गर्ने होला भनेर अल्ताल्लिएका छौँ । होशै गुमाएर काम गरिरहेका छौँ । आजसम्म हाम्रो महत्वपूर्ण समय विगतको समीक्षा गर्दै बितेको छ कहिले त विरोधको नाममा विरोधमात्र देखिनेगरी । कारण, हामीले धेरै विरोध ग¥यौँ तर सँगसँगै विकल्प दिन सकेनौँ । उचित विकल्पबिना गरिने विरोधको कुनै अर्थ रहँदैन । यद्यपि हाम्रो विरोध र असहमतिको उद्देश्य भने सकारात्मक नै थियो तर रचनात्मकरूपमा प्रस्तुत हुन सकेनौँ । तर अब पर्खनेबेला छैन अर्थात् अब हामीलाई कोही पर्खनेवाला छैनन् । हामीले अहिले नै जे गर्नुपर्ने हो त्यो नगरे हाम्रा नीति र मान्यताका विरुद्ध अर्थात् नेपाल र नेपाली जनताका विरुद्ध जल तथा ऊर्जाको ठूलो षड्यन्त्र भइरहेको छ । नेपालको जलस्रोत तथा ऊर्जा विधिवतरूपमै सँधैका लागि कब्जामा लिने प्रयत्न भइरहेको छ । हो, नेपालको जल तथा ऊर्जास्रोतमाथि एकाधिकार कायम गर्ने भारतको प्रयत्न छ । तर अन्य विदेशी राष्ट्र र लगानीकर्ता कम्पनीहरू पनि आफ्नै किसिमले नेपालको जल तथा ऊर्जास्रोतमाथि आँखा लगाइरहेका छन् । यस अर्थमा यी स्रोतहरूमा नजानिँदो किसिमले भारत, चीन र पश्चिमा धनी राष्ट्र तथा तिनका लगानी क्षमता भएका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय अन्तरसरकारी तथा निजी वित्तीय संस्था र बहुराष्ट्रिय कम्पनीहरूबीच भूमिगतरूपमा तीब्र प्रतिस्पर्धा चलिरहेको छ । यी सबैको मुख्य उद्देश्य नेपालको विकास नभइ प्रयोगमा आइनसकेको नेपालमा विद्यमान जल तथा ऊर्जास्रोतलाई आफ्नै ढाँचा र शैलीमा विकास गरेर कसरी भारत निर्यात गर्ने भन्ने रहेको छ । यसका पछाडि मुख्य कारण भनेको नेपालको बजार सानो छ, सरकार अस्थिर छ, जनता असक्षम र अस्तव्यस्त छन् भन्ने बुझाइ हो । नेपालमा ठूलो क्षमतामा उत्पादित विद्युत बिक्रीका लागि प्रसारण लाइनको व्यवस्था छैन तथा अन्य भौतिक संरचनागत आधारहरू पनि कमजोर छन् भन्ने हो । तर भारतका हकमा भने खुल्ला सिमानाको सुविधा लिएर सहजै भारतीय बजार पुग्नसकिन्छ तथा भारतमा विद्यमान विद्युतको घरेलु तथा औद्योगिक मागलाई पूरा गरेर छोटो समयमा बिनासमस्या धेरै नाफा आर्जन गर्नसकिन्छ भन्ने हो । विशुद्ध व्यापारिक दृष्टिले उनीहरूको यस्तो बुझाइ र गराइ नै आजको यथार्थ पनि हो । तर यसबाट नेपालको हित र समृद्धि हुन्छ भन्ने कुराचाहिँ होइन । मुख्य कुरा, दक्षिण एसियाबाट बेलायती साम्राज्यवादको पलायन भइसकेपछि पनि हामीले आफूलाई हिजोको उपनिवेश र त्यही उपनिवेश नयाँ र स्वतन्त्र भारतअन्तर्गत नवउपनिवेशका रूपमा हे¥यौँ । न हामी स्वतन्त्र हुनसक्यौँ न स्वतन्त्र हुनै चाह्यौँ । नेपाल–भारत जल तथा उर्जा सहयोग, विकास र व्यापारका सवालमा हाम्रा अधिकाङ्स नीतिनिर्माता, नेता र प्रशासकहरूले आफूलाई सँधै निरीह ठानेका छन् । यो आत्मरति नै भारतसँग समान हैसियतका साथ लेनदेन गर्ने कुरामा हामी पछाडि परेका हौँ । हामीमध्ये कतिले अन्तर्राष्ट्रिय नदी, जलप्रवाह तथा सतहमुनिको पानीमाथि नेपालको तल्लो तटीय अधिकार र लाभको माग गर्दा हामीलाई अन्धराष्ट्रवादी र भारतविरोधी पनि भनिएको छ । तर वास्तविकता यस्तो होइन । हामी अरुण ३ देखि कालीगण्डकी ‘ए’, महाकाली–पञ्चेश्वर, पश्चिम सेती, माथिल्लो कर्णाली हुँदै अहिले पीडीए र पीटीएसम्म आइपुगको छौँ । आजसम्म हामी सबैले गरेको रचनात्मक विरोध, सैद्धान्तिक असहमति र सकारात्मक अभियानको सार कुनै भारतविरोधी वा विकासविरोधी नभएर बदलिएको विश्वपरिप्रेक्ष्यमा र नेपालमै पनि नयाँ शक्ति र परिस्थिति निर्माण भइसकेको अवस्थामा जल तथा ऊर्जाको समग्र विकासका लागि वैकल्पिक दृष्टिकोण र योजनाको तर्जुमा र कार्यान्वयन हो । यस दिशामा सिंगो देश अगाडि बढ्नु नै नेपाल र नेपालीको हीतमा हुनेछ ।

 (नेपाल–भारत जलस्रोत तथा अन्तर्राष्ट्रिय कानुनका विषयमा विद्यावारिधि प्राप्त अधिवक्ता चिन्तन पृथ्वीनाराण बहुमुखी क्याम्पस, पोखरामा सहप्राध्यापक छन्) 

Saturday, August 23, 2014

फूटपाथको सामान जस्तो नेपाली गजल - सुमन लम्साल

          छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु । 


          केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो 
 
“उजाले आप्नी यादों के हमारे साथ रहने दो 
  न जाने किस गाली में जिन्दगीकी साम हो जाय”
     
 केहीबेर अगाडिसम्म गुनगुन गरिराखेको हल्ला शान्त भयो । बसिर बद्र मन्चबाट बिदा भएपछि कार्यक्रम संचालन गरिराखेको बुढो सयरले भन्यो, “आजसम्म यो धर्तीमा यत्तिको शेर लेखिएको छैन त्यसकारण यो मुसायारा यहीँ अन्त्य गरिन्छ ।” जबकी दर्जनौं बरिष्ट सायरहरू आफ्नो पालोको प्रतिक्षामा थिए तर त्यहाँ कसैले पनि बिरोध गर्न सकेनन्, किन कि कार्यक्रम संचालन गर्ने नै सबैभन्दा सिनियर सायर थियो । मैले यहाँ आफैले देखेजसरी यो कुरा बताए पनि वास्तबमा यो प्रसङ्ग मैले एउटा किताबमा पढेको थिए । यहाँ गजलको बारेमा केही बोल्न खोजिरहदा मैले यो प्रसंगबाट नै सुरु गर्नु को मुख्य कारण गजलको शेरको शक्ति देखाउन खोजेको हुँ । यत्तिका शक्ति बोकेको गजल विधालाई हाम्रोमा अँझै पनि हेय कै दृस्टीकोणले हेर्ने बर्गहरूको लागि यो प्रसङ्ग सबक पनि हुन सक्छ । यो प्रसङ्ग पढेपछि मैले आफूले भोगेको केही महिना अगाडिको एउटा घटना सम्झिएँ ।
      देशकै चर्चित मानिने एकजना कविले अक्षरयात्रामा गजलको बारेमा अभिव्याक्ति दिने क्रममा भन्नुभएको थियो “गजल नेपाली साहित्यको केवल एउटा आयातित, विकृत र उर्दु/हीन्दीको लोकगित जस्तो विधा हो । नेपालमा गजल लेख्नेहरूले लोक गीत लेख्दा बरु आफूलाई साहित्यमा सुरक्षित गर्न सक्छन् ।” उहाँको यो वक्तब्य आउनुभन्दा केही महिना अगाडि एकजना बिद्वान अग्रजले गजल केबल रत्यौलीभन्दा बढी केही लाग्दैन भनेर हामी केही गजलसन्ध्याका सदस्यहरूसँग बहश नै गर्नुभएको थियो यधपी आजका दिनमा उहाँ चाहिं गजल प्रति सकारात्मक हुनुहुन्छ । तर उहाँ कवि महोदय आजका दिनमा पनि गजललाई बनमारा झारसँग तुलना गर्दै सकेसम्म गाली गर्दै हिड्नुहुन्छ । यस्ता अग्रज साहित्यकारको बीचबाट पनि नेपाली गजल हुर्कदै बढ्दै यहासम्म आएको छ । यसलाई पनि ठुलो उपलब्धि मान्नुपर्छ । मोतीले सारेको तर मरिसकेको गजलको बिउलाई फेरि खोस्रेर जगाउनु भएका नेपाली गजलका असल सारथी ज्ञानु वाकर पौडेलले गर्नुपरेको संघर्ष सम्झदा पनि मन भारी भएर आउछ । आजका दिनमा यतिका व्यक्तिले गजल लेख्नुहुन्छ यतिका माओल छ र त गजलप्रति अन्य विधामा कलम चलाएका साहित्यकारको धारणा यस्तो छ भने सुरुवाती दिनमा गजल प्रति कलम चलाउनेहरूले कतिसम्म खपे होलान हामी अहिलेको पुस्ताले कल्पना पनि गर्न सक्दैनौं ।
     काठमाडौँको एउटा कुनामा मदन पुरस्कार पाएको देखि पाउने वालासम्मको एउटा झुण्ड नेपाली साहित्यको बारेमा खुब छलफल गर्ने गर्छ । विभिन्न वाद देखी विभिन्न कथा, उपन्यास र कविताका शैलीका बारेमा निकै लामो बहस पनि हुने गर्छ तर त्यो झुण्डले गजलकार भनेपछि फुटेको आँखाले पनि हेर्न चाहादैन । मसँग एक पटक त्यही झुन्डका एकजना इमान्दार पात्रले भनेका थिए “गजल त चुटकिला जस्तो लाग्छ यार” फिस्स हाँस्दै उनले थपे “अलिक साहित्यिक पाराको के” । यो त एउटा प्रतिनीधि झुण्ड मात्र हो यस्ता थुप्रै झुण्डहरू छन् जो रात दिन गजलको धुप हालेर बस्ने गर्छ । यो झुण्डलाई देखेपछि मैले राहत इन्दोरीले २००७ मा वेस्टनको एउटा मुसायरामा भनेको कुरा सम्झन्छु इन्दोरिले भनेका थिए “मैले मेरो जीवनमा ५ वोटा मात्र सच्चा गजलका शेरहरू लेख्न सकें भने म आफूलाई संसारकै भाग्यमानी साहित्यकार सम्झन्छु ।” यहाँ जीवन भर ५० बढी उपन्यास लेखि सक्दा र ५०० बढी कथा/कविता लेखिसक्दा पनि आफू प्रति सन्तुष्ट नहुने कवि लेखकलाई यो कुरा अनौठो लग्न सक्छ । जाबो १० लाइन गजल त के १०००० लाइन लेख्न सकिन्छ भन्ने पनि लाग्ला तर एउटा गजलको असली शेर लेख्नुको मेहेनत कुनै उपन्यासको भन्दा कम हुदैन । इनसाइक्लोपिडियामा गजलको अर्थ “गजल इज कलेक्सन अफ कमप्लिट पोइम्स” भनेर दिएको छ । यसबाट पनि धेरै कुरा बुझ्न सकिन्छ । यत्तिका महत्व बोकेको गजललाई हाम्रोमा गरिने व्यवाहार देख्दा सार्है नरमाइलो लागेर आउछ । 
           आफू खस्किन्छु कि भन्ने डर नमानिकन गफ नलगाएर भन्ने हो भने आजको नेपाली गजल एउटा साहित्य सिक्दै गरेको व्यक्तिलाई मूलधारको साहित्यमा पुर्याउने पूल को रुपमा देखिएको छ । गजल आफै चाँहि मुलधारको साहित्य हुन सकेको छैन । सुरुवाती दिनहरूमा गजलमा लागेका धेरै उत्कृष्ट लेखकहरूले समय क्रमसँगै गजललाई छाडेर कविता उपन्यासतिर लागेको देखिन्छ यसको मुक्य कारण गजल र गजलकारलाई नेपालमा सम्मानजनक रुपमा ग्रहण गर्न नसक्नु नै हो । हुन त गजललाई सम्मानजनक बनाउन तिनै छाडेर जानेहरूले पनि एक खाल को पहल गर्नु पर्ने हो तर आजकाल मान्छे बाटो खनेर हिड्नुभन्दा खानिसकेको बाटो हिड्न मन पराउछ । यदि नेपालमा पनि भारतका गजलकार निदा फाजली,दुश्यंत कुमार,जाबेद अख्तर र बसिर बद्रहरूलाई जत्तिकै गजलमा लागेको ब्याक्तिलाई सम्मान हुने गर्थाे भने सायद नेपाली गजलले अमर न्यौपाने र बुद्दी सगर जस्ता लेखकहरूलाई गुमाउदैनथ्यो र गुमाउदैनथ्यो भुपिन जस्ता कविहरूलाई पनि । मलाई आज पनि कसैले राम्रो शेर सुनायो भने यही कारण डर लाग्ने गर्छ । यस्तो तितो यथार्थका बिचमा पनि हाम्रोमा गजलको बारेमा अनाबस्यक हल्ला चाँहि अलि बढी नै हुने गर्छ । गजलकारहरू आफ्नो भाउ आफै सस्तो बनाई राखेका हुन्छन । मैले यो लेखको शिर्षक राख्नु अगाडि रत्नपार्कमा कपडा बेच्न कराइरहने पसलेलाई पनि एकपटक सम्झेको थिए। अझ त्योभन्दा बढी अहिले सम्झिरखेको छु डाक्टर नीरजको एउटा शेर 

“गजलको गला त उहिल्यै देखि थिचिएको छ यहाँ
  गजलकार भने ठुलो स्वरले चिच्याए जस्तो गर्छ”

     संख्यामा भारी बृद्वी भइरहेको अवस्थामा गुणात्मकतामा ह्रास आउनु स्वभाविक नै हो तर गुणात्मकता नै छैन भन्नु चाँहि मुर्खता हो भन्ने मलाई लाग्छ । अहिले नेपालमा गजल बनमारा झार जसरी आइरहेको आरोप स्वीकार्न म पनि तयार छु तर आँखामा लेन्स लगाएर हेर्याे भने बन्मारा झारको बीचबाट पलाउदै गरेका थुप्रै सति सालका पोथ्राहरू पनि देखिन्छन् । सधै बनमारा भनेर गाली मात्र गरिरहने गाली शिरोमणि ज्युहरूले आँखामा लेन्स लगाएर सति सालका पोथ्राहरू पनि देखि दिए हुन्थ्यो भन्ने मेरो आशा मात्र हो । गजल बनमारा जसरी आउनुका थुप्रै कराणहरू छन मलाई लागेका केही कराणहरू यहाँ राख्छु । 
        आजकाल फेसबुकमा स्ट्याटस राख्ने उधेश्यले धेरै जना गजलकार हुनुभएको छ, उहाँहरुको व्यक्तिगत स्वतन्त्रतामाथिको यो मेरो हस्तक्षेप होइन तर पनि गजलको गुणातमकतामा ह्रास आउनुको एउटा प्रमुख कारण यो पनि हो । धेरै जना देखासिकीमै पैडिन जान्ने भ्रमले नदीमा हाम फाले जसरी गजलमा लग्नुभाएको छ जुन पछि गएर आफैलाई घातक हुने निश्चित छ । हाम्रा मिडियाहरूले गजलको न्यूनतम मापदण्ड नपुगेका रचनाहरूलाई पनि गजल भनेर प्रचार गरेका कारण पनि घुमाएर एउटा दुइटा शब्द जोडे गजल हुने रहेछ भन्ने भ्रम धेरैमा छ । र मुख्य कारण यो साहित्यको लघु, कलात्मक र सुन्दर विधा हो जो कोही को पनि आकर्षण एकदमै छिटो बढ्ने गर्छ । सैदान्तिक बहसले पनि गजललाई बिगारेको हो कि भन्ने शंका यदा कदा सुन्नमा आउछ तर मेरो बिचारमा चिज राम्रो आयो र बैचारिक हिसाबले जम्दै गयो भने त्यसलाई सैदान्तिक बहशले असर सायदै नपार्ला । आजभन्दा ८/९ सय वर्ष अगाडि गजल भित्रिएको भारतमा त आजको दिनमा पनि सैदान्तिक बहस जेनको तेन छ भने हामीमा त्यो हुनु मलाई चाहि स्वभाविक नै लाग्छ । 
       गर्नेले जति गाली गरे पनि नमान्नेले नमाने पनि आजका दिनमा नेपाली गजल काव्यिक चेतनाले भरिदै जान थालेको छ । धेरै संघ संस्थाहरू नेपाली गजलको उन्नयन र श्रीबृदीका लागि अहोरात्र लागि परिराखेका छन् ।चाहे रजधानीबाट मधुबन र अनाममण्डली होस् चाहे मुफसलबाट गजल सन्ध्या पोखरा,गजल मंच चितवन,पूर्णीमा साहित्य परिवार कोहलपुर,सुप गजल मञ्च लगायात यहाँ मैले नाम उल्लेख गर्न नसकेका दर्जनौ सस्था किन नहुन, यिनीहरू नेपाली साहित्यमा हस्तक्षपकारी गजलकार जन्माउनमा लागि परेका छन् ।अझ मेरो आफ्नै धारणा भन्ने हो भने त जन्मि पनि सकेका छन्, मात्र प्रचारको र सम्मानको खाँचो छ । 
       कहिलेकाँही साथीहरूका शेरहरू सुन्दा पढ्दा यस्तो लाग्छ हामी पनि लेखनको हिसाबले लगभग भारतकै नजिक पुगीसकेका छौं, केवल हाम्रोमा गजलप्रति मुलधारका साहित्यकारको हेर्ने नजरमा मात्र सुधारको खाँचो छ । वास्तबमा गजलका उत्कृष्ट शेरहरूले यस्तो प्रभाव छाड्छन् जुन कमै मात्र कविता र आख्यानले छाड्ने गर्छन । मेरो यतिबेला दिमागमा दुईवटा प्रभावशाली शेरहरू खेलिरहेका छन । यी त यतिबेला ठ्याक मेरो दिमागमा आएका मात्र केही प्रतिनीधि शेरहरू हुन 

 आऊ तिम्रो पैतालामा मालाम लागाइ दिन्छु
 मेरै छाती कुल्चेका छौ काँडा बिझ्यो होला 
 –आवाज शर्मा 

 मलाई चर्चा गर्नेहरू देखि डर लाग्छ 
 तेलमा डुबेर नै बाती सकिन्छ 
 –एम पी केयरलेस 

यस्ता र यो भन्दा अझ मथिका शेरहरू लेखिएको छ तर पनि गजललाई कविता जत्तिको पनि स्वीकार्न गारो परिरहेको छ ।
      बुझ्न त गाली गर्नेहरूले पनि यो कुरा बुझेका छन तर उनीहरूको औंला आज पनि नेपाली गजलको कमजोर पक्षमाथि ठडिने गर्छ किनकि एकथरीलाई हिजो गजलका प्रति आफूले बोलेको धारणाबाट नै डर लग्न थालिसकेको छ भने अर्का थरि अरुलाई सानो देखाएपछि आफू ठुलो देखिन्छु भन्ने भ्रममा छन् । मैले यति लेखिरहदा केही कवि र लेखक प्रति माफी चाहन्छु जो विधालाई भन्दा काव्यिक शक्तिलाई सम्मान गर्नुहुन्छ र राम्रो आयो भने गजललाई पनि सम्मान गर्नुहुन्छ मन पराउनुहुन्छ । 
                भारतमा दुशेंत कुमारले गजल लेखेर कविताको ट्रेन परिवर्तन गरिदिएका थिए । विकोपिडीयामा हेर्याे भने उनको नाम भारतका गजलकार मध्यको अग्र स्थानमा छ । उनले कहिल्यै विधा हेरेर कलम चलाएनन् र उनलाई पढ्नेहरूले पनि विधा हेरर पढेनन् । उनको खुबीलाई पढे । कति नेपालका कविहरू उनका एकाक्षरी गजललाई कविता ठानेर पढ्दा रहेछन र राम्रो कविता भनेर यदा कदा राखेको देखिन्छ । 
      यत्रो इति वृतान्त सुनाइ सकेपछी केहि निष्कर्श बिना नै छांडे भने मेरो पाठक प्रतिको अन्याय हुन सक्छ । मेरो बिचारमा चाहिं नेपालमा  सबैभन्दा पहिला गजललाई पनि कविताकै एउटा रुप हो भनेर कविता जत्तिको स्विकार गर्न सक्नुपर्छ । त्यसपछि विधालाई भन्दा पनि काव्यिक चेतनालाई हेरर सिर्जनाको मूल्यांकन गरिनुपर्छ । यतिसम्म भयो भने नेपाली गजल कम्तीमा गालीको सिकार हुनुपर्दैन थीयो होला भन्ने मेरो अनुमान हो ।

Saturday, August 16, 2014

एउटा 'कोहिनूर' हराएको दिन - सुमन लम्साल



   जीवन समयको प्रयोगशाला हो। हामीहरू त्यही प्रयोगशालाको  टेस्टट्युबमा राखिएको केमिकल जस्तै छौं। ईश्वर एउटा बैज्ञानिक जो हामीमाथि निरन्तर प्रयोग गरिरहन्छ। हामीमा कहिले दुखको सल्फरडाइ अक्साइड मिसाइन्छ त कहिले सित्तल हुने डाइहाइड्रो अक्साइड मिसाइन्छ।
 
केही सिसिहरूमाथि उसको अस्तित्वको अन्तिम समयसम्म पनि प्रयोग भैरहन्छ त केही सिसिहरू थाहै हुदैन कतिबेला ईश्वरको हातबाट खसेर प्याट्ट फुटिजान्छन। हाम्रोमा एउटा मान्यता छ सबैभन्दा बढी सुन्दर र सक्षम सिसिहरू समय नपुग्दै फुटेर गइदिन्छन।
 
खासमा त्यस्तो चाँहि हुँदैन तर हाम्रो मान्यता पनि गलत छैन किनकि हामीहरू आफूलाई राम्रो लागेको चिज यदि आफूबाट छुट्टियो भने त्यसको अलिक ठुलो अभाव महसुस गर्दछौ। हामीलाई आफूले मन नपराएका कुराहरू हराउलान् त्यति बिघ्न असर पर्दैन। यो मानवीय प्रवृति हो। आजको दिन समयको प्रयोगशालाबाट एउटा उज्यालो सिसा फुटी गएको दिन हो। खोइ ईश्वरले समाउन नजानेर हो या सिसानै कम्जोर भएर हो भुईँमा झरिकन एउटा ठुलो छाप बनाएर सिसा भित्रको रसायन उडी गएको छ सपनाको देशमा। केवल हामीसँग फुटेका टुक्राहरू मात्र बँचेका छन्। 
 
पथ्थर दाइले ट्वीटरको टाइमलाइन स्क्रोल गर्दै फ्याट भन्नु भो “भाइ श्रीकृष्ण त मरेछन नि”। मेरो मस्तिष्कले कानमाथि शंका गर्यो, आँखाहरू बन्द भैराखेका छन् जस्तो लाग्यो। मैल मनमनै प्रार्थाना गरें यो छिटै सपना बनिदियोस्। म हस्याङ फस्याङ गर्दै उठ्न पाउँ र पानी खाएर भन्न पाउँ कस्तो नराम्रो सपना देखियो। तर वास्तविकतालाई हाम्रो चाहना अनुसार किन बदल्न सकिन्थ्यो र? सत्य जे थियो त्यो नै वास्तविकतामा परिणत भैदियो।
 
तैपनि दाइको विश्वास नलागेर म आफूले नै एकपटक अनलाइन न्युज साइटहरू खोलेर हेरें धेरैको माथि टाकुरामै लेखिएको थियो “अल बिदा श्रीकृष्ण”। अब चाँहि बाध्य भएर मैले आँखाहरू माथि विश्वास गर्नु पर्ने भयो। श्रीकृष्णका आजसम्म मैले हेरेका चलचित्रहरू दिमागमा क्रमैसँग एकपटक नाचे।
 
बिस्तारै मैले उस्लाई भन्दा बढी १ महिना अगाडि मात्र उसँग विवाह बन्धनमा बाँधिएकी उसकी श्रीमती श्वेतालाई सम्झिए। केही महिना अगाडि मैले इमेज च्यानलमा विजय लामासँग उनीहरूको अन्तर्वार्ता हेरेको थिएँ। उनीहरू दुवैको सम्बन्ध प्रतिको कन्फिडेन्स देखेर म धेरै लोभिएको पनि थिए।
 
लागेको थियो, यो जोडी कहिल्यै नछुट्टीयोस। अक्सर हाम्रो जीवनको प्रकृयामा लागेको कुरा हुँदैन यही सिद्दान्तको निरन्तरता आज भयो। मेरो दिमागको बटन एकाएक पुराना दिनहरू संकलन गरिएको मेमोरी तर्फ इंकित हुदै गयो। जहाँ सबैभन्दा पहिला त श्री जिउँदा थिए, उनी एउटा नायक थिए, त्योभन्दा पनि बढी मनपर्ने नायक थिए।
 
मैले उम्केको माछो ठूलो भन्ने हिसाबले उनलाई यतिबेला मेरो बेस्ट हुन् भन्न खोजेको होइन। उनी मेरो बचपनको एक आइडियल पर्सन हुन्। उनको नामसँग जोडिएका मेरो बचपनका थुप्रै कहानीहरू पनि छन्। यति बेला तिनै कहानीहरू मेरो दिमागमा घुमिरहेका छन्।
 
सायद कक्षा ६ तिर पढ्ने बेला होला। रेडियो नेपालमा सारांश भन्ने कार्यक्रम आउथ्यो। बेलुकाको साढे चार बजे। मैले धेरै जसो भित्ते घडीमा आल्राम लगाएर त्यो कार्यक्रम सुन्ने गर्थें। आधा घन्टाको त्यो कार्यक्रममा एउटा सम्पूर्ण फिल्मको कहानी सुनाइन्थ्यो। बीच बिचमा फिल्मका मुख्य मुख्य सम्वाद पनि सुनाइने गरिन्थ्यो। जसको कारण हामी फिल्मको हिरोलाई देख्नै नपाए पनि उसको आवाजलाई भने राम्ररी नै महसुस गर्न सक्थेउँ।
 
कार्यक्रमकै निरन्तरताको क्रममा हिउँदे दिनको एक दिन “सुख–दुखको” पालो परेको थियो। कार्यक्रम प्रश्तोताले कालकारको नाममा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचाय....यस्तै यस्तै अरु केही नाम लिए। महको नाम बाहेक अरु नाम मैले नचिनेकोले पनि खासै याद गरिन।
 
जब फिल्मको कथा अगाडि बढ्दै गयो मलाई त्यो नाति पात्रले खुब मन जित्यो। बाबु आमाले हेला गरे पनि नातिले हजुरबा हजुरआमालाई गरेको प्रेम देखेर म धेरै प्रभावित भएँ। मैले आफूलाई त्यो नाति पात्र सम्झन थाले। यो कथा मेरो घर परिवारसँग पनि केही हदसम्म मिल्थ्यो। मेरा बा आमाले हेला नै त गर्नुहुन्नथ्यो तर उहाँहरूभन्दा हजुरबा हजुरआमालाई मैले धेरै माया गर्छु भन्ने सधै मेरो मनको दाबि रहन्थ्यो।
 
जब फिल्मको कथा सक्कियो मलाई एउटा कुराले खुब पिरोली राख्यो अब मैले त्यो नाति पात्रको नाम जान्नु थियो। गाउँमा म जस्तै सारांश सुन्ने अरु साथीहरू पनि थिए। म सिधै विनोदको घरतिर लागें। उसले त त्यो नाति पात्रलाई पहिलेदेखि नै चिन्दो रहेछ। उसले भन्यो त्यो त श्रीकृष्ण श्रेष्ठ हो। यसरी मेरो दिमागको मेमोरीमा श्रीकृष्ण श्रेष्ठ भन्ने नाम लोड भएको हो। 
 
गाँउमा बिजुलीका तारहरू माकुराको जालो जसरी तर्ल्याङ र तुर्लुङ  झुण्डीए पनि अझै बिजुली भने पुगेको थिएन। बिक्रम बाका छोराहरू जेनेरेटरबाट फिल्म देखाउँथे। रेट भन्ने ज्यादै महँगो लगाउँथे। एउटा फिल्म हेरेको २० रुपियाँ थियो।
 
सायद यति चर्काे टिकट त त्यो बेला फिल्म हलमा पनि थिएन होला। हामी कहिलेकाँही झ्यालको चरबाट उनीहरूको फिल्म फ्रिमा हेरिदिन्थेउ। तर त्यो फिल्म साथीहरूसँग अलि अलि गफ लडाउनभन्दा बढी अन्त काम लाग्दैनथ्यो। मलाई भित्र पसेर फिल्म हेर्नको लागि दुईवटा समस्या थियो। एउटा त गोजीमा एकैपटक २० रुपियाँ हुदैनथ्यो। अर्को कुरा ३ घण्टासम्म ममिको आँखा छलेर फिल्म हेर्ने भन्ने कुरा असम्भब जस्तै हुन्थ्यो।
 
तर एक दिन दुईवटै समस्याले हावा खायो। तीजको बेला थियो। माइला बालाई पसलबाट औषधि बेचेर मैले ५० रुपियाँ कमाएको थिएँ। ममी मामाघर जानु भएको मौका थियो। कमलसँग पनि २० रुपिया रहेछ अब हामी २ जना बिक्रम बाकोमा फिल्म हेर्न जाने भयौं। मैले सानैदेखि बुवालाई आँशुले जित्दै आएँ त्यो दिन पनि त्यही भयो। घर प्रकृया पुर्‍याएर आउँदा अलिक समय लाग्यो। फिल्म त सुरु भैसकेको रहेछ हामी हतार हतार गर्दै भित्र पस्यौं।
 
मलाई जहिले पनि फिलिम हेर्दा हिरो नचिनेसम्म फिल्मको मज्जा नै लाग्दैनथ्यो। गाउँमा अलि धेरै फिल्म हेरी टोपल्ने बिशाल नजिकै थियो मैले उसलाई हिरोको नाम खुसुक्क सोधें। उसले भन्यो राजेश हमालको भाइ हो। नाम कल्पना गरें, दिनेश हमाल होला राजेशको भाइ भनेपछि। गाउँमा पनि राजेशको भाइ दिनेश नै थियो। फिल्म गज्जबको थियो। गज्जबले सकियो पनि। बाहिर आएपछि मैले सागरसँग फिल्मको नाम सोधेँ उसले भन्यो “ए मेरो हजुर।”
 
“अनि त्यो राजेश हमालको भाइको नाम के रैछ नि?” मैले पोस्टरतिर देखाउदै थपें। कहाँ राजेश हमालको भाइ हुनु त्यो त श्रीकृष्ण श्रेष्ठ हो। मलाई एकदमै ग्लानिको महसुस भयो। यदि कोही मलाई फेरि त्यो फिल्म देखाइदिन्थ्यो भने म गोजीमा बाँकी भएको तिसै रुपियाँ उसलाई दिइदीन्थे। मैले जोसँग आफ्नो नाम जोडेको थिएँ, उसैलाई आफनै अगाडि भएर पनि चिन्न नसक्दा थक्क थक्क भयो।
 
अब फेरि पनि चिन्दिन कि भन्ने डरले मैले १० रुपियाँको १० वटा श्रीकृष्ण मात्र भएको पोस्टर ल्याएर घरमा टाँसे। त्यसको केही समयपछि बिक्रम बाकोमा “हामी तीन भाइ” चल्यो। पोस्टरमा श्रीकृष्ण देखेपछि मैले सामाजिक र जनसंख्याको क्लास नै हापेर त्यो फिल्म हेरें। फिल्मभन्दा बढी मैले त्यो नातिलाई हेरें अर्थात श्रीकृष्णलाई हेरें।
 
फिल्म सकिएपछि, मैले आफूलाई श्रीकृष्ण भन्न भनेर केही साथीहरूलाई चकलेट पनि बाँडे। त्यो दिनदेखि साथीहरू श्रीकृष्ण भन्न थाले पनि। त्यसको दुई दिनपछाडि गोरु चराउन जाँदा कमलको फिल्मको सिन सम्झाउदै भन्यो “यदि तँ साँचैको श्रीकृष्ण भए यो रुखबाट हाम फालेर देखा ”। अरुले पनि होमा हो मिलाए। त्यो बेलासम्म म भित्र श्रीको यस्तो भुत बसिसकेको थियो नि म ऊ जस्तो बन्नको लागि जुनसुकै काम पनि गर्न पछाडि नहट्ने भएको थिएँ।
 
हाम फालेको १५ दिनसम्म खुट्टा मर्किएर कतै हिड्न नसक्ने भएँ। खोइ कुन चाँहिले कुरा लगाइदिएछ ममीको खुब गाली पनि खाइयो। बुवाले भने त्यही बेला सम्झाउनु भएको थियो रिल लाइफ र रियल लाइफको फरक। त्यो पछि भने त्यस्तो मुर्ख कहिल्यै बनिन।
 
यसरी मेरो बच्चा बेलाबाटै मैले आदर्श मान्दै आएको एक नायकको आज आबशान भएको छ। फेरि मस्तिष्क अहिलेकै मेमोरी भएको डिब्बामा फर्कियो। श्रीकृष्ण बास्तवमा त्यति बिघ्न हिट पनि भएनन् र त्यति धेरै फल्प पनि भएनन्।
 
मुलधारको फिल्म खेलेर पनि आफ्नो करियरको ग्राफलाई त्यति धेरै उतारचडाबमा नपुर्‍याएका एक सफल नायक चाँहि उनी हुन् नै। मलाई पहिल्यैबाट श्री मन पर्नुको कारण उनले हरेक चलचित्रमा आफ्नो भूमिकालाई गरेको न्याय नै प्रमुख हो। 
 
पथ्थर दाइ र म चिया खाएर छुट्टिउ। म समाचार र कारणहरू बारे थप जानकारी लिन पत्रिकाको कार्यालय पुगें। कार्यालयमा अमृत दाई पनि झोक्राएर न्युज साइटहरू स्क्रोल गर्दै हुनुहुन्थ्यो। दाइले भावुक हुँदै भन्नुभयो “भाइ बिचराले कोहीनुर पनि दर्शकसँग बसेर हेर्न पाएनन्।”
 
म कोहीनुर कहिलेबाट रिलिज भयो भन्ने कुरामा कन्फ्युज थीएँ। दाइसँग मिति कन्फर्म गरेपछि हामी कोहीनुर हेर्न जाने निधो गर्यौ। मैले जीवनमा पहिलो पल्ट तल्लो तलामा त्यो पनि अगाडिको बेन्चमा बसेर फिल्म हेरें। एकापट्टी हेर्यो अर्को पट्टिको भागमा फिल्म छुट्थ्यो। मलाई फिल्म भरिमा दुई वटा ठाँउमा नराम्रोसँग छोयो।
 
एक ठाउँमा श्वेता भन्छिन “आमा तपाँई त कमसेकम यत्रो समयसँगै बस्नुभयो मैले त ३० दिन मात्रसँगै बसेर मेरो प्रेम गुमाएँ।” अर्को ठाँउमा श्री भन्छन “आमा मलाई यो बेलामा मर्न मन छैन।” समग्रमा फिल्म मुलधारको उत्कृस्ट बनेको रहेछ। गहभरी आँसु बोकेर हामी दुबै जना बाहिरियौं। बाहिर श्रीको ठूलो तस्विर राखेर भावपूर्ण श्रदान्जली लेखिएको थियो। अघिसम्म जसो तसो रोकिएको आँखाको डिल यहाँसम्म आइपुग्दा धेरैको भत्कियो। 
 
मेरो लागि यो एउटा कालो दिन थियो। जुन दिन नेपाली चलचित्रको एउटा 'कोहिनुर' हराएको थियो।

Monday, July 14, 2014

“५ करोडको खैलाबैला; भ्रम र तथ्यहरु” - गगन थापा



   
    आर्थिक वर्ष २०७१\०७२ को बजेट विमर्श उत्कर्षमा छ। योजना तथा बजेट निर्माण, पारित, वितरण तथा कार्यन्वयन लगायतका बजेट प्रणाली र सार्वजनीक वित्तिय व्यवस्थापनको क्षेत्रमा सुधारका निम्ति जसरी वहस हुनुपर्थ्यो यसपटक पनि त्यो हुन सकेन। बरु यसपटको बजेट विमर्शको सम्पुर्ण पक्षलाई ‘ पाँच करोड ‘ को एउटा बिषयले ओझेलमा पार्‍यो।
       नेपालको सन्दर्भमा हाम्रो बजेट तथा सार्वजनिक वित्तिय व्यवस्थापन प्रणाली त्रुटीपुर्ण छ। यसमा ठोस सुधार अपरिहार्य छ। सुधार हामीले नै गर्ने हो र प्रयास पनि गरिरहेका छौं। बर्तमान सरकार गठन लगत्तै प्रधानमन्त्रीज्यूलाई तत्काल गर्न सकिने कामहरूका सन्दर्भमा केहि सुझाव सहित ध्यानाकर्षण गराएका थियौं। त्यसै क्रममा बजेटका सन्दर्भमा-’अधिकारको दुरुपयोग गरि नीतिगत रुपमा नै हुने राष्ट्रिय कोषको अपव्ययलाई कढाईका साथ रोक्न न्युनतम मापदण्ड बनाउने, बजेट तयारी गर्ने क्रममा योजना आयोग लगायतका सवै निकायको भुमिकामा आवश्यक परिमार्जन गरि २०७१\०७२ को वजेट जेठ महिनाभित्र प्रस्तुत गर्ने, ०७२\७३ को वजेट चैत्र महिनामा पेश गर्ने, वैशाख जेठ भित्र संसदमा छलफल गरि पारित गर्ने र साउन १ गतेवाट काम शुरु गर्ने प्रवन्धका निम्ति आवश्यक व्यवस्था मिलाउन ऐन निर्माण गर्ने । बजेट छर्ने प्रबृत्तिलाई पुर्ण रुपमा अन्त्य गर्ने, क्षेत्रगत प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने। जील्लास्तरीय कार्यक्रमहरूलाई केन्द्रवाटै तोक्ने व्यवस्थाको अन्त्य गर्ने लगायतका वजेट निर्माण, कार्यन्वयन, नियमनलाई कसरी प्रभावकारी वनाउने र मितव्ययीता, पारदर्शिता र जनसहभागिताको सुनिश्चितता कसरी हुनसक्छ भन्ने विषयमा सुझाव प्रस्तुत गरेका थियौं।
     यी विषयमा जनमत निर्माण गर्नु जरूरी छ भन्ने मान्यताका साथ संसदभित्र र वाहिर पनि यि विषयहरुलाई निरन्तर उठाउदैं आएको छु। सुधारका निम्ति पद्दती निर्माण गर्नु जरूरी छ र त्यो कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा पनि म प्रष्ट छु, यसका वारेमा आफ्ना कुरा राख्ने नै छु, अरुका कुरा पनि सुन्नेछु र त्यसका निम्ति प्रयास जारी राख्ने छु।
     
       अहिलेलाई भने मैले बहुचर्चित ‘५ करोड’ विनियोजनका वारेमा आफ्नो धारणा राख्नु सान्दर्भिक ठानेको छु। यी धारणाहरू कुनै नयाँ भने होईनन, संसदमा प्रि-बजेटवारे छलफल हुँदा र संसदीय दलको वैठकमा र सार्वजनिक मञ्चहरूमा पनि पटक पटक राख्दै आएका धारणाहरू नै हुन।
•हामीले संसद विकास कोष भनेर २०५३ सालदेखि २ लाख ५० हजार वाट शुरू गरेको अभ्यास अहिले १० लाखसम्म पुगेको छ। यो कोष तत्काल बन्द गर्नुपर्छ भन्ने मेरो मान्यता हो। सांसदले नीजि तजविजमा खर्च गर्न पाउने यस्तो कुनै पनि कोष राख्नु हुदैन।
•हाम्रो बजेट तथा सार्वजनिक वित्तिय व्यवस्थापन प्रणालीका बिभिन्न पक्षमा धेरै सुधार गर्नुपर्ने छ। हामीले चाहेको सबै सुधार तत्काल हुन नसक्ला। तर डा. पिताम्बर शर्मा राष्ट्रीय योजना आयोगको उपाध्यक्ष हुँदा योजना आयोगले गरेको निर्णय ” जिल्लाहरूमा संचालित गरिने विकास कार्यक्रमकालागी केन्द्रवाट नै कार्यक्रम तोक्ने र वजेट विनियोजन गर्ने (बोलीचालीको भाषा अनुसर योजना आयोगले निकाल्ने रातो कितब भाग-२ को प्रकाशन बन्द गर्ने) भनेर गरिएको निर्णयको तत्काल नै कार्यान्वयन गर्नुपर्छ।
•जिल्लामा संचालन गर्ने विकास कार्यक्रमका लागि उपयुक्त सुत्रका आधरमा रकम विनियोजन गरेर सोझै जिल्लामा नै पठाउनुपर्छ। जिल्लाले प्राप्त गरेको त्यो रकमकालागी योजना छनौट गर्ने, अनुगमन गर्ने, लगायत अन्य कामकालागी जिल्लाको क्षमतामा भने सुधार गर्दै लानुपर्छ। जिल्लाको तहमा आएको वजेटको विनियोजन गर्ने, अनुगमन गर्ने संयन्त्रमा जिल्लाका विभिन्न क्षेत्रवाट निर्वाचित जनप्रतिनिधि(सांसद)को अर्थपुर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ।
•एमाओवादी र मधेसकेन्द्रीत दलहरूले संविधान जारी गरेर संघीयता कार्यन्वयन नगरेसम्म स्थानीय निकायको निर्वाचन गर्नुहुँदैन भन्ने अडानका कारण निर्वाचन हुन नसकेको अवस्था छ। निर्वाचित स्थानिय निकाय नभएको कारणले गर्दा अहिले विधायकको रुपमा काम गर्नुपर्ने सांसले चाहेर वा नचाहेर पनि विकासको प्रतिनिधिको रुपमा पनि काम गर्नुपर्ने बाध्यता छ। तर स्थानिय निर्वाचन गर्न नदिन सबैभन्दा अग्रसर हुने दलका नेताले नै रकम विनियोजन गर्दा स्थानिय निकायलाई दिनुपर्छ र त्यही मार्फत खर्च गर्नुपर्छ भनेर दिएको दलिल चाँही बुझिनसक्नुको छ।
     जवसम्म स्थानीय निकायको निर्वाचन हुँदैन र जिल्ला स्तरिय योजनाकोलागी सिंहदरवारबाट नै वजेट विनियोजन गर्ने व्यवस्था रहिरहन्छ तवसम्म अहिलेको वास्तविकतावाट हामी कोहि पनि उम्कन सक्दैनौ। योजना छनौट र बजेट निर्माणमा सांसद चाहेर पनि अलग हुने अवस्था छैन। उदाहरणका लागि काठमाडौं क्षेत्र नं ४ मा ४ वटा गाविस र ४ वटा महानगरपालिकाका वडाहरु छन। ४ गाविस र ४ महानगरका वडाका बासिन्दाहरुको विकास निर्माण बिभिन्न मागहरु छन्। तर गाविस र महानगरका वडाहरुसंग सिमित स्रोत र साधन मात्र छ। यि स्रोत र साधनले गर्न सकिने बाहेकका कामहरु, योजना छनौटको १४ चरण पार पार गर्दै केन्द्रका निम्ति सिफारिस हुन्छन् वा जिल्ला वा महानगरपालिकाको योजना बैंकमा थन्किएर बस्छ। यसरी हेर्दा काठमाडौं क्षेत्र नं ४ मा यो वर्षकालागी स्थानीय निकायको स्रोतले नभ्याएका मोटामोटी ६५ करोडका योजनाको माग भएको छ। ती मुलत भौतिक पुर्वाधारका योजनाहरु छन्। अर्थात काठमाडौं ४ नं मा बस्ने जनता यो वर्ष भित्र केन्द्रवाट ६५ करोड बराबरको विकास निर्माणको काममा सहयोग होस् भन्ने चहान्छन्। निश्चय पनि प्रत्येक निर्वाचन क्षेत्रवाट गरिएका यस्ता मागलाई यहि वर्ष सम्पन्न गर्न सकिन्न। त्यसो भए म जस्तो जनप्रतिनिधिले के गर्ने? स्थानिय निकायको निर्वाचन गर्न दवाब दिने, वजेट प्रणालीमा सुधार गर्न दवाब दिने, तर जवसम्म यो दुबै विषयमा अपेक्षित परिणाम आँउदैन त्यो वेला सम्म के गर्ने? व्यवस्थाले आफै काम गर्छ भनेर बस्यौं भने ६५ करोड बराबरको योजनाको मागमा एक पैसाको योजना पनि छनौट नहुन सक्छ। अनि हामी बाध्य भएका छौं; योजनाको फाईल बोकेर मन्त्रालय- मन्त्रालय, योजना आयोग धाउन। हामीले प्रयास र हस्तक्षेप नगर्ने हो भने सरकारका मन्त्री, पुर्व मन्त्री र पार्टीका प्रभावशाली नेताहरुको क्षेत्रमा मागेको भन्दा बढी रकम जान्छ र कम प्रभावशालीहरु जिल्ल पर्छन्। अनि पद्दती परिवर्तनको प्रयास गर्दागर्दै पनि जवसम्म त्यो परिणाममा पुग्दैन काठमाडौं क्षेत्र नं ४ का जनताले विकास निर्माणका आफ्ना मागहरुकोलागी जनप्रतिनिधिका रुपमा मैले प्रयास गरोस भन्ने ठान्नु नाजायज हुन्छ र?
      यो एउटा उदाहरण मात्र हो। यस्तै पृष्ठभुमिमा यस पटक नेपालला २४० नै निर्वाचन क्षेत्रमा कम्तीमा ५ करोडको विनियोजन गर्नुपर्छ भन्ने माग भएको हो।
यो सन्दर्भमा उठेका भ्रम के छन र तथ्य के हो भन्ने कुरामा मेरा केहि धारणा छन।
•अहिले सार्वजनिक चर्चा भएको जस्तो यो सांसद विकास कोष होईन। सांसद विकाष कोषमार्फत सांसदले प्राप्त गर्ने १० लाखको ठाँउमा ५ करोड हुने हो भन्ने कसैको वुझाई छ भने त्यो गलत हो। यदी माग्नेले त्यसरी बुझ्नुभएको छ भने त्यो वुझाई पनि त्रुटीपुर्ण छ। सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको कुनै साइनो छैन। धेरैले बुझेको जस्तो कतै कुनै छुट्टै खातामा गएर पाँच करोड जम्मा हुने होईन।
•यो रकम स्थानीय निकाय (जिल्ला विकास समिति) मा जान्छ। उदाहरणकोलागी काठमाडौंका दश क्षेत्रकोलागी ५० करोड रुपैयाँ विनियोजित भयो भने क्षेत्र नं ४ मा निर्वाचित सांसद, समानुपातिक प्रणालीवाट निर्वाचित यस क्षेत्रका अन्य सांसद (अन्य पार्टीका पाँच जना सांसद छन् यस क्षेत्रमा मात्र), स्थानीय विकास अधिकृत, पुर्वाधार निर्माणसंग सम्वन्धित जिल्ला कार्यालयका प्रमुखहरू रहेको एक संयन्त्र बन्छ।
•यस्तो संयन्त्रलाई काम गर्नकालगी सरकारले एउटा कार्यविधि र मापदण्ड बनाएको हुन्छ। यस्तो संयन्त्रले जिल्ला परिषदवाट पारित भएका पुर्वाधार निर्माणका योजनाको मात्र छनौट गर्न पाउनेछन्। छनौट गरिएका योजनाको कुल लागतको कम्तीमा २५% लागत लाभान्वित हुने समुहदायले श्रमदान वा नगद मार्फत हाल्नै पर्ने हुन्छ।
•छनौट भएको योजनाको कार्यान्वयनको सम्पुर्ण जिम्मेवारी सम्बन्धित कार्यालयको नै हुन्छ। जस्तैः कुनै १ करोडको खानेपानी आयोजना छनौट भयो भने ७५ लाख निर्वाचन क्षेत्र विकास कार्यक्रमवाट निकासा हुन्छ र २५ लाख जनसहभागितावाट थप हुनेछ र यो आयोजना निर्माणको सम्पुर्ण काम खानेपानी विभागले गर्छ। संयन्त्रको भुमिका उक्त कार्यको अनुगमन गर्ने मात्र हुनेछ।
यी विषयसंगै केहि नीतिगत प्रश्नहरू पनि उठेका छन।
पहिलो प्रश्न, अहिले महत्वपुर्ण के हो संविधान कि विकास? त्यसो हो भने संविधान जारी नहुने बेलासम्मको लागी संसदलाई निलम्बनमा राखिदिँउ। संविधान जारी भएपछी मात्र संसदलाई क्रियाशिल बनाउँला। होईन भने हाम्रो संविधानको व्यवस्था अनुसार यो निर्वाचित निकायले संविधान सभा र संसद दुबैको भुमिका निर्वाह गर्नुपर्छ। संविधान निर्माणको सन्दर्भमा अनेकन जटिलता छन्, तिनलाई चिरेर जानुपर्छ तर सभासदले सांसदको भुमिका पनि निर्वाह गरेकोले संविधान बनेन भन्नु अतार्किक कुरा हो।
दोस्रो प्रश्न, के सांसदले यसरी योजना छान्न मिल्छ भन्ने हो। अहिले चलिरहेको व्यवस्थामा जिल्लाको स्रोत ले नभ्याउने भनेर केन्द्रकोलागी भनेर सिफारिस भएका योजनाहरु सांसदले नै बोकेर मन्त्रालय- मन्त्रालय धाँउछ। मन्त्रालयवाट सबै योजना छनौटमा पर्न नसक्ने भएकाले यो वर्ष कुन योजनालाई वजेटमा पार्ने त्यो सांसदले नै छान्छ। (जस्तो खानेपानीले यसपाली हामीलाई एउटा र सडकले दुईवटा योजना छान्न भनेको छ) रातो किताबमा वजेट विनियोजित भएपछी त्यो विनियोजनलाई संसदवाट पारित गर्ने पनि सांसद नै हो। त्यसो भए अहिले माग गरिएको विषय र अहिले भइरहेको काममा के नयाँ कुरा मागिएको छ र? सांसदले जे गरिरहेको हो त्यही नै गर्ने हो। खाली काम गर्ने तरिका मात्र फेर्न खोजेको हो। एउटा प्रभावशाली नेताले आफ्नो क्षेत्रमा करोडौं रुपैयाँ लाने र त्यही प्रभावशाली नेता, मन्त्री र हाकिमहरुको निगाहमा आफ्नो क्षेत्रकोलागी भनेर छुट्टयाएको केही न्युनतम कार्यक्रम सामाविष्ट भएको रातो किताब संसदमा प्रस्तुत हुँदा पनि पार्टी ह्विपका कारणले वजेट पारित गराउनु पर्ने अवस्थालाई बदल्न खोजेको मात्र हो।
तेस्रो प्रश्न, हिनामिना भयो भने के गर्ने भन्ने छ। यो रकम सिधै सांसदको हातमा जाने पनि होईन र सांसदको नीजी तजविजमा खर्च हुने पनि होईन। काम गर्ने कुरामा सांसदको कुनै भुमिका हुँदैन वरु जनताको श्रमदान र प्रत्यक्ष सहभागिता हुने हुँदा हिनामिनाको संभावना न्युन रहन्छ। आज हाम्रो आँखा अगाडी भौतिक पुर्वाधार निर्माणको काममा ठुलो हिनामिना हुँदा पनि सांसद मौन छ किनकी उसले आवाज उठायो भने सम्बन्धित कार्यालयवाट उसका कुनैपनि माग सम्बोधन नहुन सक्छ। अव आफ्नो निर्वाचन क्षेत्रका कामका लागी कसैको मुख ताक्नु नपर्ने भएकाले सायद संसदले प्रभावकारी ढङ्गवाट अनुगमन गर्न सक्छ। यदि कुनै सांसदले हिनामिना गरेको पाएमा आफुले जिताएका सांसदलाई दण्ड दिने अधिकार पनि जनतासंग नै रहन्छ। आफूलाई निर्वाचित गरेर पठाएका जनताप्रति जनप्रतिनिधि अनिर्वाचित निकायहरू भन्दा वढि सचेत र जिम्मेवार रहनुपर्छ र रहन्छन्।यदि रहेनन् भने ति दण्डित हुन्छन्।
चौथो प्रश्न, राजनीतिक सिन्डिकेट रहन्छ भन्ने छ । पहिलो कुरा निर्वाचित सांसदवाहेक संयन्त्रमा अन्य निकायका प्रतिनिधि र सांसद समेत भएकोले एउटै दलको सिन्डिकेट हुन सक्दैन। सम्वन्धित सवै निकाय र स्थानीय जनता समेत सहभागि हुने हुँदा वरू विकासमा प्रतिस्पर्धा हुन्छ।
पाँचौं प्रश्न, असमानतासंग जोडिएको छ । निर्वाचन क्षेत्र धेरै भएका काठमाडौं, झापा मोरङ लगायतका जिल्लाहरूमा धेरै रकम पुग्ने तर कर्णालीमा कम पुग्ने असमान वितरण हुन्छ भन्ने तर्क छ। हाम्रो वजेटको आकार १२ अरवको भएको भए प्रत्येक निर्वाचन क्षेत्रमा ५/५ करोड दिँदा हुम्लाले ५ करोड पाउँदै गर्दा काठमाडौंले ५० करोड पायो भन्ने तर्क हुन्थ्यो होला तर गएको वर्षको वजेटलाई मात्र हेर्ने हो भने कुल वजेट रकम रु. ५ खर्ब १७ अर्व २४ करोड रहेको छ। त्यसमध्ये चालुतर्फ रु. ३ खर्व ५३ अर्व ४१ करोड ७४ लाख ७६ हजार, पुँजीगततर्फ रु ८५ अर्व ९ करोड ९७ लाख ३१ हजार र वित्तिय व्यवस्थातर्फ रु ७८ अर्व ७२ करोड २७लाख ९३ हजार रकम विनियोजन गरिएको छ। कुल वजेट मध्ये कुल ४५५ विकास आयोजना / कार्यक्रमहरुकोलागी जम्मा रु २ खर्ब ४१ अर्व ५७ करोड ५० लाख ४१ लाख विनियोजन भएको छ। यसरी वजेट विनियोजन गर्दा सरकारले कुन क्षेत्रलाई प्राथमिकता दिने भनेर छनौट गर्न सक्थ्यो। मानौं सरकारले नेपालका पहाडी जिल्ला र विमानस्थल नभएको प्रत्येक जिल्लामा विमानस्थल बनाउन रकम विनियोजन गर्छु तर काठमाडौं जस्तो शहरमा सडक विस्तार गर्न अर्वौं रुपैयाँ विनियोजन गर्दिन भन्न सक्दथ्यो। यसपाली पनि वजेट निर्माण गर्दा केलाई प्राथमिकता दिने सरकारले निर्णय गर्न सक्छ। सरकारको प्राथमिकता हुम्लाको सडक हो भने ५ करोडको निर्वाचन क्षेत्र विकास कार्यक्रमले त्यस्तो प्राथमिकता तय गर्न रोक्छ? राष्ट्रिय प्राथमिकताका साथ न्यायोचित विकास गर्नै वाटो यसले छेक्दैन वरु त्यसलाई थप बल प्रदान गर्छ।
छैटौं प्रश्न: क्षेत्रलाई दिने न्युनतम ५ करोड कहाँवाट आउछ भन्ने छ। यसरी ५ करोड दिँदा राष्ट्रिय प्राथमिकताका योजनाहरुवाट रकम काट्नुपर्छ भन्ने छ। तर क्षेत्र विकासको कार्यक्रमकालागी चाहिने १२ अर्ब रकमकोलागी अन्य योजनावाट एक रुपैँया पनि काट्नु पर्दैन। अहिले मन्त्रालयहरुले कार्यक्रम बनाउँदै गर्दा विकास खर्च भित्र नै चलखेल गर्न र भोलीपर्सी पार्टी कार्यकर्तालाई बाड्न मिल्ने गरी लुकाएर प्रस्तुत गर्न लागिएको रकम मात्र झिक्ने साहस गरे पुग्छ। त्यसैगरी रातो किताब भाग-२ मा राख्ने गरिएको नचाहिने शिर्षक र कार्यक्रम कटाउनासाथ यो कार्यक्रमलाई एक रुपैयाँ पनि अन्य स्रोतवाट खोज्नु पर्दैन। किन पाँच करोड भन्ने तर्क पनि सायद यहि नै हो किनकी अहिलेको अवस्थामा सरकारले तय गरेको प्राथमिकतामा कुनै तात्विक परिवर्तन नगरी १२ अर्ब रुपैयाँ सम्म निर्वाचन क्षेत्रको विकास कार्यक्रमलाई विनियोजन गर्नसक्ने अवस्था देखिन्छ।
अन्त्यमा,
५ करोडको यो हल्ला भित्र गहिरिएर खोज्ने हो भने केही महत्वपुर्ण कुराहरु भेटिन्छन्।
•अहिले भइरहेको छलफललाई हामी संविधानसभा भित्र भइरहेको शासकिय स्वरुपको बहससंग जोड्न सक्छौं, अहिले व्यक्त भएको आक्रोसका अनुसार यस्तो पद्दती चाहियो जहाँ सांसदले आफ्नो ठाँउमा विकास निर्माणको अगुवाईको त कुरा छाडौं चासो पनि लिनु हुँदैन। त्यसो भए त मैले भनेको जस्तो व्यवस्थामा जाननुपर्ने भयो; प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अनी प्रधानमन्त्रीले बनाउने मन्त्री परिषद। संसदको कुनै सदस्य मन्त्री परिषदमा गए संसदको त्यो स्थान रिक्त भएको मानिने हुनुपर्छ। अनि नेपालमा जम्मा १०००वटा स्थानिय सरकार र स्थानिय विकास निर्माणको सम्पुर्ण जिम्मा निर्वाचित स्थानिय निकायलाई र स्थानिय निकायमा प्रमुख पनि प्रत्यक्ष निर्वाचिन प्रणालीवाट निर्वाचित हुनुपर्छ। तर होईन अहिलेको जस्तै व्यवस्था राख्ने, सांसदलाई विकासको एजेन्ट बन्न बाध्य बनाउने तर विकास निर्माणमा चासो लियो भने सराप्ने कुरा विरोधाभाषपुर्ण हुन्छ।
•विकास के हो? दशौं वर्ष कागजमा मात्र गफ हुने ठुला परियोजना मात्र विकास हो की, आजै अहिले नै आफ्नो जीवन, आफ्नो काम, आफ्नो गतीलाई प्रभावित गर्ने “खुद्रे काम” पनि विकासको परिभाषा भित्र पर्छ? पूर्व अर्थ मन्त्रीहरु जव आफ्नो क्षेत्रको वारेमा कुरा गर्नु हुन्छ, भन्नु हुन्छ; खुद्रे कामले नै जनतामा बिश्वासको विजारोपण गर्छ, अनि विश्वासले लगानीलाई प्रेरीत गर्छ त्यसैले ठुलो कामसंगै यस्तो काम पनि गर्दै जानुपर्छ (त्यसैले आफु सरकारमा हुँदा होस् वा नहुँदा होस, अर्थ मन्त्रालय चलाएको नाताको आधारमा प्रत्येक वर्ष आफ्नो क्षेत्रमा सबैभन्दा बढी रकम लानु हुन्छ) तर जब आफ्नो क्षेत्रवाट बाहिर निस्कनु हुन्छ अनि सबैलाई पढाउनु थाल्नु हुन्छ र भन्नु हुन्छ; रकम छर्नु हुँदैन। सवै रकम ठुला परियोजनामामा मात्र लगाउनुपर्छ। यसरी दुई जिब्रे नितिले कहिले सम्म काम गर्छ?
•५ करोडको विषय किन वेठिक भन्ने आवाज उठाँउदा सांसद बिधायकको भुमिकामा मात्र सिमित रहन पर्नेमा किन विकासको काममा संलग्न हुने भन्ने तर्क गर्न सकिन्थ्यो। हाम्रो वजेट प्रणालीमा भएको त्रुटिलाई यसरी सच्च्याउनु भन्दा वजेट ऐन बनाउने देखि आमुल सुधार गरौं भन्ने तर्क गर्न सकिन्थ्यो। तर त्यो वहसमा भागलिने धेरै विद्धानहरुको एउटै तर्क पाइयो; सांसद विकास कोषको दशलाख त दुरुपयोग भएको छ अव ५ करोड बनायो भने के हुन्छ? जुन कुरा हुँदै होईन त्यसमा टेकेर तर्क गर्ने अनि जुन यो प्रस्तावको खिलाफमा जे विषय उठाउनुपर्ने हो त्यसमा भने मौन बस्ने कस्तो विद्धत समुदाय?
•जनतावाट निर्वाचित सांसद भनेको जनताको प्रतिनिधि हो। जन-प्रतिनिधिका बारेमा राम्रो/नराम्रो भन्ने हक मात्र राख्ने होईन त्यसका आधारमा आफ्नो मत बनाउँदै त्यस्तो प्रतिनिधिको भाग्यको फैसला गर्ने अधिकार समेत जनतालाई नै छ। तर यो देशमा सबै क्षेत्रमा असल मान्छे हुनसक्छन् तर आफैंले निर्वाचित गरेको जन प्रतिनिधि चै अनिवार्य फटाहा, ठग नै हुन्छ र त्यसका प्रत्येक काम खराब नियतवाट प्रेरित हुन्छ र जन प्रतिनिधि कोहि असल र खरब हुँदैन ति सबै खराब नै हुन्छन् भन्ने धरणाले के जन प्रतिनिधिको मात्र अपमान हुन्छ कि तिनलाई छान्ने को पनि?
म फेरी भन्छु; मुल कुरा भनेको हाम्रो वजेट प्रणाली नै त्रुटिपुर्ण छ। आज र अहिले जे छलफल भएपनि हाम्रो मुल ध्यान यसको सुधारमा नै जानुपर्छ। माथि उल्लेख गरिए जस्तै हाम्रो बजेट तथा सार्वजनिक वित्तिय व्यवस्थापन प्रणालीमा सुधार गर्ने हो भने अहिले माग गरेको जस्तो निर्वाचन क्षेत्र विकास कार्यक्रमको कुनै आवस्यकता नै रहदैन । हामीले हिड्नु पर्ने बाटो त्यहि नै हो । तर जवसम्म यस्तो हुँदैन तव सम्म जनताले सांसदको रुपमा पनि काम गर्न पठाएकाहरु राष्ट्रिय बजेटबाट आफूले प्रतिनिधित्व गर्ने क्षेत्रको बिकाशका निमित्त लड्न बाध्य भइरहनेछन् ।

Saturday, July 12, 2014

म निलम्बित भएको विश्वकप - सुमन लम्साल

         
         
सुमन लम्साल 
म सानोमा फूटबल भनेपछि हुरुक्कै हुने । गाउँमा कत्तिक मंसिरमा धान काटीसकेपछी अधिकांश खेतका गराहरु खाली हुन्थे । अरुबेला मैदानको अभाबले गर्दा फूटबल अलिक सुस्ताउथ्यो भने  यतिबेला चाँहि सबै जनालाई फूटबलको नशा नै चड्ने गर्थ्यो । सबै उमेर समुहका आफ्ना आफ्नै झुण्ड हुन्थे । हाम्रै उमेरको पनि २/३ वटा झुण्ड थियो । त्यो मध्यको हाम्रो एक थियो । हाम्रो ग्रुपमा कमल र म फूटबलमा अलि जान्ने मध्यकै गनिन्थेउ । हामीलाई कहिलेकाही ठुला दाइहरुको टिम नपुग्दा किप्पर राख्न पनि लैजान्थे । किप्पर भन्दा बढी चाँही पाइदैन थ्यो । किपर नै बस्दा पनि घरि घरि ब्लाडर हालेको बल छुन पाइने हुदा हामि खुब खुसि हुन्थ्येउ । भुरा भुरिकै ग्रुपमा पनि हाम्रो ग्रुप अलि तगडा खालको थियो । अरु साथीहरु पलास्टिकको बल खेल्दा हामि मोजाको बल खेल्थेउ । बल बनाउने जिम्मा बोधुको हुन्थ्यो । उ सानै देखिको अलि अक्कले स्वभावको थियो । उ मामा घर जाँदा पनि खेर जान आँटेको  मोजा देख्यो भने लिएर आउथ्यो र जोडजाड गरेर बल बनाइ हाल्थ्यो ।   
         कक्षा ४ मा पढ्ने बेलाको कुरा हो । मङ्सिर महिनाको दिन थियो । छिटै रात पर्थ्यो । हामि संधै झैँ फूटबल खेलिराखेका थियौं । हार्नेको टिमले भोलिपल्ट जित्ने टिमलाइ एक एक प्लेट चना खुवाउनु पर्ने सर्त थियो । रात पर्न लागि सक्दा पनि कसैको गोल भएको थिएन । बल मैले चलाइरहेको थिएँ । एक्कासी कमल चिच्यायो नङ सुट हान् । मैले खुब जोड सँगले बल उडाएँ । बल त खोलामा पुग्यो । हामि बल लिन खोलामा पुग्ने बेला सम्म त बल बगाइसकेको रहेछ । साथीहरु मसँग खुब रिसाए । सबै भन्दा बढी त बोधु रिसायो । उसले मामा देखि हजुरबा सम्मको मोजा हालेर बल बनाएको रहेछ । उसले भोलि पल्ट आउदा मैले नयाँ बल बनाएर ल्याउनुपर्ने कुरा उठायो । साथीहरु सबैले हो मा हो मिलाए । अब मलाई ठुलो समस्या पर्याे । एक त हाम्रो घरमा जुत्ता लगाउने बुवा मात्र हुनुहुन्थ्यो । अर्काे कुरा बुवाको च्यातिएको चाँहि मोजा अस्तिनै घरमा मह झिक्दा झुम्रो बनाइसकेको थियो । मैले बोधुलाई फकाएर बल बनाइदिय १० रुपियाँ सम्म दिने सर्त राखे । उसले मरिगए मानेन । साथीहरुको अगाडी केहि सिप नलागेपछि लुत्रुक्क पर्दै घर तिर लागेँ । 
       त्यो बेलुकी राम्रो संग खान मन पनि लागेन । राति सबैजना सुतिसकेपछि बुवाको जुत्ता राख्ने ठाँउमा पुगेर एकपटक हेरेँ । सेता एक जोर मोजा जुत्ता भित्रै थिए अरु मोजाको टुक्रा सम्म थिएन । मनमा अनेक कुरा खेले । एक मनले सोच्यो ह्या बल सल खेल्न जादिन । के मान्थ्यो र अर्काे मन । अर्काे मनले भन्यो यहि मोजा झिक र भोलि मुसा ले लागेको हुन सक्ने कुरा उठा । त्यहि मनले जित्यो । भोलि पल्ट बिहान सबै जना उठिसक्ने हुनाले मोजा अहिले नै लुकाउनु पर्ने थियो । खुसुक्क मोजा झिकेर झोलामा लगेर राखेँ र सुत्न गएँ । भोलि पल्ट एक्कसी बुवाको स्वर कानमा पर्दा ब्युझियँ । “सुमन ! तैले देखिनस् बाबु मेरो मोजा कहाँ परेछ ? ममीले पनि देखिन भन्छे ।” बुवा ले कोठाको चारै तिर आँखा लगाउदै भन्नु भयो । मैले आँखा मिच्दै निकै जान्ने झैँ गरेर भनेँ “बुवा मुसाले लग्यो होला अस्ति माथि भकारीमा लगेर के के थुपारेको थियो त्यहि पो लग्यो कि ?” बुवाले फकाउने पारामा भानु भयो “जा त बाबु हेरेर आइज ” म जा भन्ने आवाज सुन्न साथ कुदी हालें भकारी तिर, तर भकारी सम्म पुगिन आँटीको लिस्नाबाटै छैन रैछ भन्दै फर्किएँ । अब चप्पल लगाएर जानु पर्याे भन्दै बुवा निस्कनु भयो । मलाइ राहात महसुस भयो । 
      त्यो दिन स्कुलमा कमलको र मेरो दिनभरिको काम नै बल बनाउने भयो । सेरोफेरो को कक्षा नै हापियो । उसकोमा गएर कागज र डोरी ल्याइयो अनि मैले लगेको दुइ वटा मोजा हालेर बल बनाइयो । मोजा नयाँ भएकाले बोधुले बनाउने भन्दा धेरै राम्रो पनि भयो । बललाई स्कुल नाकिकै झाडीमा लुकाएर राखियो र हामीहरु घर तिर लागियो । घरमा पुग्दा ममीले माथि भकारी तिर मोजा खोज्दै हुनुन्थ्यो । मैले पनि सम्भावित ठाउँ देखाउदै एकछिन खोजे जस्तो गरें । एकैछिनमा खाजा खाइ वरी केटो हाजिर भयो आफ्नै क्याराभानमा । 
       कमल बल लिएर आइसकेको थियो । अरु साथीहरु आउने क्रम थियो । साथीहरुले बलको ठुलो प्रसंसा गरे । कतिले त बोधुको बल खेल्न पनि घिन लाग्थ्यो सुमन को बल त नयाँ जस्तै रैछ सम्म भने । बोधु अलि निन्याउरो भयो । हिजो बल हराएर रोकिएको खेल आज पुन सुरु हुने भयो । बिचमा तिन पटक बल उफारेर खेल सुरु भयो । उफ्रिन त मोजाको बल के उफ्रिन्थ्यो र त्यहि पनि दाइहरुले बाँधेको बिरालो हामीले पनि बाँधियो । खेल हामीले जित्यौं मैले १ गोल हानेँ र कमल ले १ थप्यो । उनीहरुको तिर बाट विनोदले १ गोल हान्यो । जामा जम्मी २–१ को नतिजा निस्कियो । हामि चनाको स्वाद सम्झिएर मुख मिठ्याउदै आफ्नो आफ्नो घर तिर लगेउ । 
        घरको आँगनमा टेक्न नपाउदै बुवाले भन्नुभयो “बाबु मोजा त मुसाले नै लागेको रैछ नि मुसो पनि भेटियो मोजा पनि भेटियो ।” म अचम्म परें । नबुझे जस्तो गरेर सोधें, “खोइ त बुवा मुसो ?” बुवाले मेरो कमिजको पछाडी समात्दै भन्नु भयो “यी यै हो मुसो ।” म छाँगाबाट खसेजस्तो भएँ, दिमागले काम गर्न छाड्यो । म तिर ठुलो आँखा ले हेर्दै बुवाले भन्नु भो “अस्ति किनेको नयाँ मोजा चोरेर लगेर बल बनाउने, अझ मुसाले लग्यो होइन ? धन्न कान्छीले देखेकी रैछ र भनि, अझ कक्षा पनि हाप्ने हैन ?” बुवा गालि गर्दै हुनुहुन्थ्यो म नबोली लुसुक्क माथि गएर बसें । खास कुरो के भएछ भने हामी कमलकोमा गएको बेला  बैनीले कलम खोज्न मेरो झोला हेरिछ । हामीले ढलनमा गएर बल बनाउदा पनि लुकेर हेरेकी रे अनि घर आएर सब कुरा उसले नै लगाएकी रहिछ ।                
       त्यस दिन देखि मलाइ बुवाले बल खेल्न जान दिनु भएन । म खेलबाट एक महिनाको लागि निलम्बित भएँ । साथीहरुले किन खेल्न नआएको भन्दा कहिले बिरामी छु भनेर टारें त कैले पढ्नु छ भनेर टारें । १०/१५ दिन पछाडी त गहुँ छर्नको लागि खेतहरु पनि जोतिन थाले । साथीहरु पनि खेल्न जान छाडे । त्यो सिजनको फुटबल मेरो लागि पुरा नखेल्दै टुंगियो । 
      यतिबेला मौसम विश्वकप फूटबलको छ । सुर मुनि देखि भुसुना सम्म सबैजना त्यसैको ज्वरोले तातेका छन् । त्यो बेला विश्वकप हेर्न त के भए नभएको पनि पत्तो हुदैन थ्यो । त्यहि धानका ठोसा माथि मोजाको बलले खेल्ने खेल नै  हाम्रो लागि विश्वकप हुन्थ्यो । अहिले हेरेर रमाएको भन्दा हजारौ बढी गुणा हामि खेलेर रमाउने गर्थेउ । मलाइ आज पनि ब्राजिलमा भएको विश्वकप भन्दा १० वर्ष अगाडी खेतको गरामा भएको हाम्रो विश्वकप प्रिय लाग्छ । जून विश्वकपमा म बिचमै निकालिएको थिएँ ।     

Monday, June 30, 2014

परिवर्तनको प्रारम्भ आफैंबाट - लीलामणि पौड्याल

  
lilamani-poudyal.jpg    हामीकहाँ असल मान्छेको अभाव छैन । हामीकहाँ समाज रूपान्तरणको ज्ञान भएका मान्छेहरूको पनि खाँचो छैन । असल अभ्यासको पनि अभाव छैन । समाज रूपान्तरणका लागि एकदमै चिन्ता गर्ने मान्छे पनि धेरै छन् । तर हामीसँग सकारात्मक विचार राख्ने, असल अभ्यास गर्ने र चिन्ता गर्ने मान्छेहरूबीच सहकार्य गर्नेे, चिन्ता र चासो राख्ने मान्छेहरूको ठूलो जमातमा विचार कार्यान्वयनका लागि जोखिम वा दुःख उठाउने अथवा सुविधा-सहुलियत त्याग्ने तत्परता तथा इमानदारीको खडेरी छ । सकारात्मक सोच, त्यसको कार्यान्वयन र असल अभ्यासको संयोजनबाट मात्रै समाज रूपान्तरण गर्न सकिन्छ ।
कतिपय मान्छेहरू भन्ने गर्छन्, 'यति धेरै समस्याहरू छन्, अत्यासलाग्दो स्थिति छ, जताततै प्वालैप्वाल छन्, एकातिर टाल्यो अर्कोतिर चुहिन्छ, एकातिर सियो अर्कोतिर फुस्किन्छ, त्यसैले कसरी सकारात्मक हुने ? सबै मान्छे खराबै-खराब देखिन्छ, आसै मरिसक्यो । यो सकारात्मकता भन्ने त आदर्शमात्र हो ।'
अरु कतिपय मान्छेहरू परिवर्तनका लागि अहिलेको समय उपयुक्त छैन भन्छन् । 'संविधानै छैन, स्थिर सरकार छैन, राजनीतिक नेतृत्व नै सक्षम छैन, कहाँबाट रूपान्तरण हुन्छ ?' भन्नेहरू पनि छन् । अरु केही मान्छे भन्ने गर्छन्, 'यति ठूलो समाजमा मैले मात्र गरेर के हुन्छ र ? सबैले गरे त मैले पनि साथ दिने थिएँ ।'
नेता ठीक भए सबै ठीक हुने थियो भन्ने र कुनै चमत्कारिक मान्छे आएर हाम्रो समाज रूपान्तरण गरिदेला कि भनी भाग्य कुर्ने पनि हाम्रो समाजमा प्रशस्तै छन् । त्यस्ता मान्छेहरू परिवर्तन फुत्त जमिनबाट निस्केर संसारलाई उज्यालो बनाइदिने वा आकाशबाट कुनै उज्यालो पिण्ड खसेर हामीलाई ज्योति दिने जस्तो चमत्कारिक व्यक्ति आएर हाम्रा सबै समस्या हल गरिदिनेछन् भन्ठान्नेहरु पनि छन् । मेरो विचारमा ती सबै विचार ठीक छैनन् । सही विचार त के हो भने यदि जताजतै समस्यै समस्या छन् भने परिवर्तनका लागि जताततै अवसरै-अवसर छ । यहाँ केवल आफैंले सुरु गर्ने प्रयत्न वा उपयुक्त ठाउँको खोजी गरी भूमिका निर्वाह गर्न इमानदारीतापूर्वक लाग्ने इच्छाशक्ति वा तत्परताको खाँचो छ ।
कतिपय मानिसहरू खोलाको पानीको मुहानको उदाहरण दिँदै नेतातर्फ संकेत गरेर माथिबाटै सुधि्रनुपर्छ भन्छन् । त्यो उत्तम विचार हो । एउटा उदाहरण हेरौं । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, सन्तनेता, उहाँ छाता र सुराही बोकेर प्रधानमन्त्री निवास जानुभयो र छाता-सुराही बोकेरै त्यहाँबाट फर्किनुभयो । पक्कै पनि उहाँले भ्रष्टाचार गर्नुभएन, किनभने पदीय जिम्मेवारी छोडेर जाँदा केही पनि सम्पत्ति थिएन, उहाँसँग । सरकारले दिएको एउटा घरमा बसेर बित्नुभयो । त्यसकारण उहाँको नेतृत्वकालमा मूल सफा थियो भन्नेमा विवादै रहेन । अब के हामी भन्न सक्छौं, उहाँको कार्यकाल भ्रष्टाचार निवारणका हिसाबले नेपालको शासकीय कालखण्डमा स्वर्णकाल हो ? अहँ सक्दैनौं । त्यसो भए भ्रष्टाचार निवारणका लागि मूल सफा हुनपर्दैन त ?  मूल सफा त हुनैपर्छ । यो अनिवार्य सर्त हो, तर पूर्ण सर्त भने होइन । आफूले गर्नैपर्ने र गर्नसक्ने प्रयत्न नगर्ने वा खराब कर्मलाई प्रोत्साहन दिनेहरू मूल सफा हुनुपर्छ भन्ने मूलमन्त्रलाई आफ्ना खराब कर्म छोप्ने बहानामात्र बनाइरहेका छन् । कर्तव्यच्युत हुनेहरूका लागि यो गतिलो बहानाबाजीमात्रै हो ।
कोही माथिको मान्छे सुधि्रएर मात्र यो मुलुक सुधि्रँदैन, कोही तलको मान्छे राम्रो भए पनि यो मुलुक सुधि्रँदैन । यो मुलुक सुधि्रन त सर्वप्रथम 'म' सुधि्रनुपर्छ । सबै सुधार र रूपान्तरणको प्रस्थानबिन्दु 'म' हो, माथि वा तल होइन । बिगि्ररहेको ठाउँमा 'म' कहाँनिर सुधार गर्न सक्छु भन्ने पहिचान गरी सुरुवात त्यहींबाट गर्ने हो । यो कुरा भ्रष्टाचार निवारणमा लागू हुन्छ, सरसफाइमा पनि लागू हुन्छ, विकासमा लागू हुन्छ, घरमा र समाजमा पनि लागू हुन्छ । यो भनाइलाई समाज रूपान्तरणमा नेतृत्वको भूमिका अवमूल्यन गर्ने रूपमा बुझनिु हुँदैन । असल काम गर्नेलाई सघाउने तत्परताको अभावमा असल नेतृत्व निर्माण हुनै सक्दैन । नेतृत्व निर्माणको क्रममा जिम्मेवारी नागरिक 'म'ले धैर्यपूर्वक आत्मअनुशासनमा बसी इमानदारीपूर्वक कर्तव्य पालना गरी प्रणालीको निर्माणमा जुट्ने हातलाई साथ दिने र सामूहिक हितका लागि व्यक्तिगत, पारिवारिक, गुटगत र दलगत स्वार्थ त्याग्ने 'म'हरूको खाँचो छ ।
स्वार्थ त्याग्न नसकेका कारण नेतृत्व निर्माणमा हामी नराम्ररी चुकेका छौं । हाम्रा अतृप्त इच्छा पुरा गरिदिन कुनै अमूक व्यक्ति आउँछ भन्ने ठानेर कुनै व्यक्तिलाई देवत्वकरण र हाम्रा अपेक्षा पुरा गर्न नसक्ने वा स्वार्थमा बाधक ठानेर दानवीकरण गरेका छौं, पटक-पटक नेतृत्वलाई हामीले । सामाजिक सञ्जालहरू हेर्‍यौं भने सबै नेताहरूलाई निकृष्ट र तुच्छ गाली गरिएको पाउँछौं । त्यो विचार कहाँबाट आयो ? सम्भवतः हामीले विजारोपण गरेको नकारात्मक विचारको उच्चतम उत्कर्ष हो त्यो । हामीले काम गर्न सिकाएनौं, गाली गर्न सिकायौं । कर्म गर्न सिकाउनुपर्नेमा भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसको हातमा सुम्पने प्रवृत्तिको विकास गर्‍यौं । यो सामन्ती समाजको चरित्र हो । यसबाट समाज रूपान्तरण सम्भव छैन ।
नेतृत्व हामीजस्तै तर हामीलाई बाटो देखाउने केवल एक व्यक्ति हुन् भन्ने यथार्थ सायद हामीले बिस्र्यौं । नेतृत्वको निर्माण समाजले गर्ने हो, समाजको महत्त्वपूर्ण इकाइ परिवार र परिवारको इकाइ 'म' हो । 'म' त्यागी, इमानदार, मिहेनती र सद्भाव राख्ने मान्छे भएँ भने मैले छान्ने नेतृत्वमा पनि ती गुण वेष्ठित हुनेछन् । म स्वार्थी, बेइमान, आत्मकेन्दि्रत भएँ भने चाहेर पनि मेरो नेतृत्व असल गुणयुक्त हुनै सक्दैन । म असल तर मेरो नेतृत्व खराब हुनै सक्दैन । त्यसैगरी मेरो नेतृत्व असल र म खराब हुनै सक्दैन । त्यसैले नेतृत्व हाम्रै गुणहरूको समष्टि हो र नेतृत्वले गर्ने काम वा व्यवहार हाम्रै अपेक्षा, चाहना, दबाबको अभिव्यक्ति हो । यो मुलुकमा आफूलाई बुज्रुक र जानकार ठान्ने कसैको परीक्षण बाँकी छैन । धेरै, थोरैको कुरामात्र हो । प्रत्यक्ष र परोक्षको कुरामात्र हो । परीक्षणबाट फेल भएकाहरूले आत्मसमीक्षा गर्ने कि कसैलाई गाली गरेर आत्मरतिमा रमाउने ?
गएको ५०० वर्षको विश्वको विकासक्रम हेर्दा, कोही विज्ञ र परामर्शदाता बाहिरबाट ल्याएर ठूल्ठूला प्रतिवेदन बनाइदिएर वा बाहिरबाट पैसा ल्याइदिएर, दान र उपहार दिएर सम्पन्न भएको कुनै पनि मुलुक छैन । युरोप, अमेरिका, जापानजस्ता मुलुकको विकासमा पुस्तौं-पुस्ताको त्याग र समर्पण छ । कोरिया, सिङ्गापुर, मलेसियाजस्ता मुलुकहरूले एउटै पुस्ताको अद्वित्तीय त्यागबाट विकासको चरणमा फड्को मारेका हुन् । चीन र भारत त्यही बाटोमा अग्रसर छन् । तपाई-हामीजस्ता सचेत नागरिकहरूको त्याग, समर्पण र कर्तव्यपरायण बिना कुनै पनि समाजको रूपान्तरण सम्भव भएको इतिहास छैन । विकास भनेको हामीले नै गर्ने हो । सुरुवात आफैंबाट हो । मैले के गर्न
सक्छु, त्यो मैले गर्ने हो । मैले गर्नसकेको कुरा गरेर मात्र अरुलाई यसो र उसो गर भन्ने हैसियत मैले बनाउन पाउँछु ।
पूर्वीय दर्शनमा पाँचवटा कुरा त्याग्न भनिएको छ ः काम, क्रोध, लोभ, मोह र अहंकार । यी त्यागे मुक्ति पाइन्छ भनिन्छ । यी पाँच कुराले हाम्रो शरीरमा नकारात्मक ऊर्जाको सञ्चार गरिरहेका हुन्छन् । त्याग्ने भनेको ती नकारात्मक ऊर्जालाई हाम्रो मन, शरीर, विचारमा ठाउँ नदिऊँ भनेको हो । जसले समाज रूपान्तरण गर्छु भन्छ, उसले यी पाँच कुरा त्याग्न प्रयत्न गर्नुपर्छ ।
महाभारतमा कौरव १०० भाइ र पाण्डव ५ भाइ थिए/थिएनन्, त्यो मलाई थाहा छैन । तर मैले बुझेको कुरा कुनै एउटा समाजमा एउटा कालखण्डमा खराब विचारको प्रतिनिधित्व गर्ने मान्छेहरू १०० जना भए भने सही विचारको प्रतिनिधित्व गर्ने मान्छे ५ जना हुन्छन् । ती पाँचजनाले त्याग, तपस्या गर्छन्, वनवास जान्छन्, गुप्तवास बस्छन्, सबै खाले कठिनाइ र प्रतिकूलतासँग लड्छन् र अन्त्यमा विजय प्राप्त गर्छन् । अर्थात् एक सयमा पाँचले सत्य र न्यायका लागि लडिरहन्छन्, त्याग/बलिदान सबै गर्छन् र अन्त्यमा, समाजलाई रूपान्तरण गरिछाड्छन् भन्ने हो । अहिले त्यही पाँचको खोजी, कर्तव्यपथमा अविचलित कर्मयोगीको कार्य र सिर्जनाको प्रबर्द्धन र उनीहरूका सत्कर्मको संयोजित विस्तार आवश्यक छ ।
यो सकारात्मक ऊर्जा प्रवाह गर्ने कुरामा हामी थोरै छौं वा तत्काल लाभ भएन भनेर हीनताबोध गर्नुपर्ने कारण छैन । भनेजस्तो नतिजा आएन भनेर असल काम छोड्नु पनि पर्दैन । एक्लै वा अल्पमतमा परेंँ भनेर सत्कर्म छोड्नु हुँदैन । सकारात्मक कर्मबाट प्राप्त हुने ऊर्जा र त्यसको विस्तारबाट समाज रूपान्तरण हुन्छ भन्ने मेरो विश्वास छ । नतिजाको कुरा गर्दा गीतामा भनिएको- कर्मण्येवाधिकारस्ते माफलेषू कदाचनः को अर्थ केलाउनुपर्ने हुन्छ । हामीलाई यो श्लोकको अर्थ काम गर्दै जानु, फलको आस नगर्नु भनी सिकाइयो । तर त्यो सत्य होइन । मेरो तुलनात्मक सत्यमा आधारित ज्ञानले भन्छ, उक्त श्लोकको अर्थ कर्म गर फलको र नतिजाको अपेक्षा पनि गर, तर फल र नतिजाप्रति आसक्त नहोउ भनेको हो ।
कुनै कुराप्रतिको आसक्तिले कर्मको फल सधैं नकारात्मक हुन्छ । मान्छेले असाध्यै धेरै आसक्त भएको कुरा पायो भने संसारै पाएँ भन्ने ठान्छ र अहंकार बढ्छ । सबै पाएपछि अगाडिको कुराको खोजी पनि गर्दैन । फलस्वरुप फलप्रतिको आसक्ति र त्यसको प्राप्तिले उसको र उसमार्फत समाजको प्रगति अवरुद्ध हुन्छ । त्यसैगरी फलप्रतिको एकदमै धेरै आसक्ति र अप्राप्तिले चरम निराशा आउँछ । त्यसैले मैले बुझेको कर्मण्येवाधिकारस्ते माफलेषू कदाचनः भनेको कर्म गर, फलको अपेक्षा पनि राख, तर फलप्रति आसक्त नहोऊ भनेको हो । यदि अपेक्षा नराख्ने हो भने त मान्छेले कर्म गर्दै गर्दैन । त्यसकारण नयाँ सन्ततिलाई सिकाउनुपर्ने शिक्षा भनेको कर्म गर र फलप्रतिको आसक्तिलाई कम गर भन्ने नै हुनुपर्छ ।
पौड्यालल नेपाल सरकारका मुख्य सचिव हुन् ।



Monday, June 16, 2014

उनले आत्महत्या गरिन्, हामी फेल भयौँ - सागर प्रसाईँ


     मैले जुन विद्यालयबाट एसएलसी पास गरेँ, त्यहाँकी एक विद्यार्थीले यस पालि एसएलसी फेल भएँ भनेर आत्महत्या गरिन् रे। म त्यो घटनाले स्तब्ध भएँ।
किन हाम्रो देशमा एसएलसी परीक्षालाई हाउगुजी बनाइँदैछ? किन एसएलसीको यत्रो हुइया चलाइँदैछ- म त छक्क पर्छु। नौ कक्षामा फेल हुँदा- कसैले पनि आत्महत्या गरेको हामीले सुनेको छैनौँ। एघार, बाह्र, ब्याचलर्स, मास्टर्समा बर्सेनि कति फेल हुन्छन् तर तिनीहरूले आत्महत्या गर्दैनन्। त्यसो भए किन एसएलसी पनि १० कक्षाको वार्षिक परीक्षाजस्तो साधारण परीक्षा हो, यो पछाडि पनि यस्ता धेरै र यो भन्दा महत्वपूर्ण परीक्षाहरू हामीले दिनुपर्छ भनेर हामीले हाम्रा विद्यार्थीलाई किन बुझाउन सकेका छैनौँ?
खासमा १ देखि १२ कक्षा सम्मलाई स्कुलिङको रूपमा लिने अन्तर्राष्ट्रिय मान्यता छ भने १० कक्षामा सारा देशलाई नै हल्लाउने गरी किन एसएलसी गर्नुपर्यो? अरू कक्षाजस्तै कक्षा १० को वार्षिक परीक्षा आफ्नै स्कुलले लिए भैहाल्यो नि। १२ कक्षामा बरु देशभरि एकरूपता ल्याउन, एउटा राष्ट्रिय परीक्षा गरे हुँदैन?
सरकारले कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई केही गरी पनि फेल गर्न नपाउने नियम बनाएको छ। साना विद्यार्थीको मनोविज्ञानमा असर पर्छ भनेर यसो गरिनु ठिकै हो। तर योसँगै कोही विद्यार्थीहरू फेल हुनै नपरोस् भनेर उनीहरूको शैक्षिक स्तर सुधार्न पनि त कार्यक्रमहरू आउनु पर्ने हो। नत्र त अहिलेको हिसाबमा कोही पनि सानो कक्षामा फेल नहुने भएपछि, एकदमै कमजोर शैक्षिक स्तर बोकेका विद्यार्थी पनि बिना रोकटोक माथिल्लो कक्षामा आइपुग्छन् तर उनीहरूको कमजोर पढाइको स्तरका कारण माथिल्लो कक्षाको पढाइ त उनीहरूले बुझ्न सक्दैनन् अनि जीवनमा पहिलोपल्ट फेल हुन्छन्। कक्षा ८, ९ मा यसरी एक-दुई विषय फेल हुँदा विद्यालयले अर्को कक्षामा मेहनत गर्ने वाचा गराएर विद्यार्थीहरूलाई माथिल्लो कक्षामा जान दिन्छन्। तर एसएलसीमा त्यस्तो हुँदैन र त्यो विद्यार्थी फेल हुन्छ। फेरि रेडियो, टिभी, पत्रपत्रिका, गाउँघर सबैतिर एसएलसीकै मात्र चर्चा हुने गर्छ। फलानोले यस्तो गर्यो रे, यति पर्सेन्ट ल्यायो रे भनेर चर्चा चलिरहँदा, त्यो फेल हुने विद्यार्थीले मेरो त अब जीवन सकियो भनेर सोच्नु स्वाभाविक नै हो।
थ्री इडियट्स फिल्ममा एकजना विद्यार्थीले परीक्षामा पास हुन नसक्दा आत्महत्या गर्छन्। अनि त्यो चलचित्रका नायक आमिर खानले आफ्ना प्रिन्सिपललाई चुनौती दिन्छन्- 'यो उनले आत्महत्या गरेका हैनन्, तपाईँहरूले दिएको दिमागी प्रेसरले उनको हत्या भएको हो। तर नआत्तिनू, तपाईँहरूलाई कसैलाई पक्रन सक्दैनन्, किनभने पोस्टमार्टममा दिमागलाई कति प्रेसर थियो भन्ने थाहा हुँदैन।
'प्रत्येक बर्ष एसएलसी परीक्षाको नतिजा प्रकाशित भएपछि हाम्रा साना भाइबहिनीहरुले आत्महत्या गर्दा मलाई त्यो फिल्म याद आउँछ। मेरो स्कुलमा पढ्ने ती बहिनीले पनि आत्महत्या गरेकी हैनन्- उनको त हामीले, हाम्रो समाजले, शिक्षा मन्त्रालयमा बसेका बिद्वानहरुले, पत्रपत्रिकाले, स्कूल- सबैले मिलेर दिएको दबाबले हत्या गरेको हो। हामीलाई लाग्ला उनी फेल भइन् र त उनले आत्महत्या गरिन्- तर म त भन्छु, उनले आत्महत्या गरिन्- र हामी सबै फेल भयौं।
शिक्षाको स्तर उकास्छौं भने काम गर्दै गरेका सरकारी र गैरसरकारी निकायहरू फेल भए। पढे-लेखेर बुद्धिजीवी कहलिएका शिक्षाविद्हरू फेल भए। यो सबै बुझेर पनि केही गर्न नसक्ने, म पनि फेल भएँ।
मैले जति लामो लेखे पनि मूल कुरा यही हो- जबसम्म हाम्रा स्कूलले, हाम्रो समाजले, हाम्रा पत्रपत्रिकाले, हाम्रा अभिभावकले अनि सबै भन्दा महत्वपूर्ण, हाम्रो सरकारले हाम्रा भाइबहिनीहरुलाई एसएलसी फेल हुँदा जिन्दगी सकिँदैन, एसएलसीपछि पनि कति धेरै परिक्षामा हामी फेल हुनेछौँ भनेर बुझाउन सक्दैन- यो क्रम जारी रहन्छ। अर्को वर्ष पनि फेरि कोही विद्यार्थीले फेल भएँ भनेर आत्महत्या गर्नेछन्। त्यस कारण हामी नचाहिँदो दबाब दिएर अरू धेरै विद्यार्थीको हत्या नगरुँ- पाप लाग्छ।

Saturday, June 14, 2014

प्रहरीमा पद्धती बसाल्ने मौंका - गगन थापा

 लोकसेवा र मुख्य सचिवले राजनीतिक चलखेल स्वीकार्य छैन भन्ने सन्देश दिउन
नेपाल प्रहरीमा एआईजी बढुवा अहिले सार्वजनिक चासोको विषय बनेको छ । प्रहरी जस्ता संस्थाहरूमा सवै कुरा निश्चित पद्धती अनुसार चल्ने 'ट्रयाक रेकर्ड' भएको भए सायद यस्तो बढुवा आम चासोको विषय बन्दैनथ्यो होला । यो घटना र यसबाट उब्जेका प्रतिक्रियालाई नेपाल प्रहरीले कसरी सम्बोधन गर्छ त्यसैमा नै अब यो संगठनको मान, सम्मान र अनुशासन निर्भर हुनेछ।
यो घटनासँगै प्रहरीभित्र एउटा पद्धती बसाल्ने महत्वपुर्ण मौका आएको छ। बिगतमा नेपाल प्रहरी भित्र राजनीतिक नेतृत्वले अनावश्यक चलखेल गर्न पाउने सवै प्वाल टाल्नुपर्छ भनेर संसदभित्र र व्यवस्थापिका संसद राज्यव्यवस्था समितिमार्फत हामीले केही अग्रसरता लिएतापनि त्यसवाट खासै उपलव्धि हुन सकेन। व्यवसायिक प्रहरीले मात्रै समाजमा सुव्यवस्था र शान्ति सुरक्षाको प्रत्याभुत गराउन सक्छ, आम जनतामा विश्वास जगाउन सक्छ भन्ने मान्यताका साथ हामीले संसदमा त्यो प्रयास गरेका थियौ। प्रहरी सेवालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै प्रहरीको आन्तरिक क्षमता, दक्षता र व्यवसायिकपनमा वृद्धि गर्ने हो भने यो संस्थामा धेरै सुधार हुन सक्छ भन्ने मेरो विश्वास हो।
पटक पटक प्रहरी सेवालाई व्यवसायिक र राजनीतिक हस्तक्षेपमुक्त बनाउनु पर्छ भन्ने आवाज नउठेको होइन । तर, लामो समयदेखि बहस चले पनि ठोस उपलब्धि हुन सकेन। हरेक घटना र पात्रका सन्दर्भमा खरो टिप्पणी गर्ने हामीहरुले संस्था र त्यसको पद्धती निर्माण गर्न खासै ध्यान दिएका छैनौ ।
अहिले नेपाल प्रहरी नियमावली २०७१ बनेको छ। डिआईजीको बढुवा त्यसमै टेकेर भएको हो। यस नियमावलीको नियम २० मा प्रहरीभित्रको बढुवालाई व्यवस्थित गर्न बढुवाको आधार प्रष्टसँग राखिएको छ। यही आधारमा टेकेर एआईजी पदका लागि गृह मन्त्रालयको सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयको सचिव र आईजीपी सदस्य रहेको बढुवा समितिले बढुवाको सिफारिस गर्नुपर्छ । यस्तो आधार अनुसार बढुवा समितिलाई १२.५ अंकको अधिकार हुन्छ भने बाँकी ८७.५ समितिमा नाम जानुभन्दा पहिला नै निर्धारित भएको हुन्छ।
बढुवामा चित्त नवुझे लोकसेवाको अध्यक्षको अध्यक्षतामा मुख्य सचिव र कानुन सचिव सदस्य रहेको समितिमा उम्मेदवारहरुले उजुरी दिन सक्ने व्यवस्था छ । समितिसँग बढुवा समितिले कुनै पनि उम्मेदवारको बढुवामा दिएको अंकको औचित्य हेर्ने र सिफारिस संसोधन गर्नुपर्ने देखिएमा सो समेत गरि बढुवा समितिलाई कार्यान्वयन गराउन सक्ने अधिकार विद्यमान छ । अहिले यही समितिमा उजुरी परेको छ।
अब समय आएको छ प्रहरीको नयाँ नियमावलीमा भएको यो व्यवस्थाको कार्यन्वयन गर्ने। एआईजीमा वढुवामा यस्तो भएको थियो उस्तो भएको थियो भनेर भाषणमा होईन अब तथ्यमा टेकेर, निर्भिक भएर यो समितिले आफ्नोमा परेको उजुरीको छानबिन गर्नुपर्छ, त्रूटि भएको भए सच्याउनुपर्छ र नियमसंगत बनाएर त्यसको कार्यन्वयन गर्नुपर्छ । लोकसेवाको अध्यक्ष र मुख्य सचिव समेत रहनु भएको समितिले अब उप्रान्त राजनीतिक नेतृत्वले प्रहरी भित्र कुनै चलखेल गर्न खोजियो भने त्यस्तो स्वीकार्य हुन्न भन्ने सन्देश दिने गरिकन निर्णय गर्नुपर्छ।
हामी घटना र पात्र केन्द्रीत होईन पद्धती बसाल्न चाहन्छौ भने यो एउटा महत्वपूर्ण अवसर हो। प्रहरी भित्र सरुवा, वढुवा दण्ड पुरस्कार राजनीतिक नेतृत्वको लहडमा हुन सक्ने अवस्थालाई सधैको लागि बन्द गर्नुपर्छ, प्रहरी मात्र होईन सवै निकायमा। तर यो केवल चाहना राखेर हुने कुरा होईन नियम कानुन मै यस्तो व्यवस्था गर्न सकियो र उचित समयमा त्यसको उचित प्रयोग गर्न सकियो र त्यसको सहि कार्यन्वयन हुन सक्यो भने नै यो सम्भव हुने कुरा हो। अहिलेको घटनामा त्यसतर्फ अग्रसर हुने हो भने नेपाल प्रहरीले अन्य निकायलाई पनि पद्धती निर्माणको बाटोमा हिड्न प्रेरित गर्ने अवस्था आउन सक्छ।



Friday, June 13, 2014

एसएलसी फेल हुँदैमा जहाज डुब्दैन - शोभा शर्मा

एसएलसी फेल भएर पनि चम्किएका ताराहरु


परीक्षा नियन्त्रण कार्यालयले यसपाली एसएलसीमा ४३.९२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको नतिजा निकालेको छ। 
राष्ट्रिय ढुकुटीबाट शिक्षामा भएको झण्डैं खरब रुपैयाँको लगानी खेर नगएको देखाउन यो तथ्यांक 'हाइलाइट' गरेको हुनुपर्छ।
नियमित र पुरक (एक्ज्याम्पटेड) तर्फ कूल ५ लाख ४७ हजारले जाँच दिएका थिए। ती मध्ये १ लाख ८८ हजार हाराहारी उत्तिर्ण भए।
यो आँकडा अनुसार एसएलसी दिएका मध्ये एक तिहाई भन्दा केहि बढीले मात्र पास गरेको देखियो।यस हिसावले झण्डैं दुई तिहाई विद्यार्थी फेल भए। 
एसएलसीलाई फलामे ढोका भन्ने 'धङ्धङी'बाट आम विद्यार्थी, अभिभावक र शिक्षक मुक्त भएका छैनन्। 
समाजमा जकेडिएको त्यो चिन्तनले लाखौं विद्यार्थी, बाबुआमा र आफन्तका लागि आजको दिन 'कालो शुक्रबार' भएको छ। कयौं घरमा रुवावासी चल्नेवाला छ। 
तर एसएसलसी फेल हुँदैमा जिन्दगीको जहाजै डुव्ने भने हैन। एसएलसी फेल भएर केहि फरक पर्दैन भन्ने साहस जुटाउन हाम्रै समाजमा दर्जनौं उदाहरण छन्। 
एक/दुई पटक एसएलसी फेल भएर उनीहरुले हरेस खाएनन्। प्रयास गरे। मज्जाले पास गरे। कुनै बिधा समाते। करिअरमा चम्किलो तारा भए। समाजलाई पनि सकेको योगदान गरिरहेका छन्। 
...
चर्चित हास्यकलाकार हरिवंश आचार्य एसएलसीमा दुईपटक फेल भए। तेस्रोपटक वल्लतल्ल पास भएका उनले थर्ड डिभिजन ल्याए। आफ्नो किताब 'चिना हराएको मान्छे'मा आचार्यले आफू चौँथो डिभिजनको विद्यार्थी भएको लेखेका छन्।
फेलभएपछि उनी व्यापारीको भरिया बनेर विदेश गए। कहिले सांस्कृतिक कार्यक्रममा भाग लिन्थे। तर परिक्षा भने दिन छोडेनन्।  
एसएलसी फेल भएरपनि हरिवंश स्कुले जीवनदेखि नै नाटक र अभिनय राम्रो गर्न सक्थे। स्कुल क्याम्पसका पढाइमा 'चौथो डिभिजन' उनी नेपाली कलाक्षेत्रका अब्बल कलाकार हुन्।
आफ्नो किताबमा उनले आफू फेल भएर पास हुँदाको एउटा अनुभव यसरी लेखेका छन्, 'कहिलेकाहीँ रिजल्ट भएको भोलिपल्ट भूलसुधार भनेर गोरखापत्रमा छापिन्थ्यो। त्यसमा कोही पास भएका फेल हुन्छन्, फेल भएका पास हुन्छन्।
नक्सालकै एकजना पढैया मान्छे फेल भएछन र त्यहीँ दिन झुण्डिएर आत्महत्या गरेछन्। तर, भोलिपल्ट गोरखापत्रको भुलसुधारमा उनी प्रथम श्रेणीमा पास भनेर निकाल्यो।'
...
सशस्त्र प्रहरीका पूर्व एआइजी रवीराज थापा कुनै बेला नेपालका तर्फबाट ओलम्पिकमा पुग्ने खेलाडी थिए। प्रहरी सेवामा उनले राम्रो अफिसरको छबी बनाए। 
लागूऔषध नियन्त्रण गर्ने विज्ञको रुपमा उनले संयुक्त राष्ट्रसंघको मिसनमा काम गरे।
उनी  एसएलसी फेल हुन्।२०२४ सालमा उनले पहिलोपटक एसएलसी दिएका थिए। साधारण सरकारी स्कुलमा पढेका उनलाई एसएलसीमा गणित लाग्यो। 
विषय लाग्दा पनि थापालाई धेरै चिन्ता लागेन। किनभने उनलाई गाली गर्ने कोहि थिएन। फेल भएका दिनमा पनि उनी चिन्ता लिएर बस्दैनथे। 
त्यो बेला पुरक परिक्षा दिने चलन पनि थिएन त्यसैले उनले एकवर्ष पछि मात्रै अर्को परीक्षा दिएका थिए। 
खेलमा उनको रुचि थियो।  अहिले सम्झीँदा पनि उनलाई एसएलसी फेल भएकामा कुनै गुनासो छैन।
उनी खेलकुदमा सौखिन थिए त्यसैले पढाइमा ध्यान दिएनन् आइए र बिए पनि उनले व्याक पेपर दिँदै पास गरे। 
'एसएलसी फेल भएको थिएँ, तर त्यसले मेरो करिअरमा कहिल्यै असर गरेन,' थापाले भने, 'फलामे ढोका भनेर अभिभावक र शिक्षकहरुले देखाइदिने डर एकदमै गलत कुरा हो।'
शिक्षा पास फेल भन्दा पनि जीवनउपयोगी हुनुपर्ने धारणा उनको छ। 'शिक्षकले पढाई भन्दा जिवनमा पास हुनु ठूलो हो भनेर सिकाउनुपर्छ,' थापाको अनुभव छ, 'सानातिना पास फेलले जिवनलाई केही असर गर्दैन।'
...
द्वारिकानाथ ढुंगेल नेपाल सरकारका पूर्व सचिव हुन्। सरकारी जागिर त्यागेपछि उनी आइआइडिएस भन्ने अनुसन्धान केन्द्रमा काम गरे। उनी २०१५ र २०१६ सालमा एसएलसी फेल भएका हुन्।
दुईपटक फेल हुँदा निरास उनले कोचिङ पढे। अर्को वर्ष २०१७ सालमा उनी थर्ड डिभिजनमा पास भए।
'फेल हुँदा अल्ली दिन त म हिनताबोधले ग्रसित भएको थिएँ। साथिहरुले हेप्थे छिमेकीले पनि फेल भयो काम लाग्दैन भन्थे,' ढुंगेलले भने 'पछि मलाई हेप्ने साथीहरुले पढ्न सकेनन् तर मैले कहिले पछि फर्केर हेर्नुपरेन।'
नेपाली र हिसाबमा एसएलसी फेल भएका ढुंगेल एमए (राजनीतिशास्त्र) को टपर भए।
अमेरीकाको हार्वड र इण्डियाना विश्वविद्यालयमा गएर पढेँ। पिएचडी गरे। उनलाई लाग्छ, 'विद्यार्थी फेल हुने होइन। शिक्षा पद्धतिले विद्यार्थीलाई पास वा फेल बनाउने हो त्यो रोक्नुपर्छ।'
'एसएलसी फलामे ढोका' भनेर सारालाई तर्साउने शिक्षा पद्धति नै उनलाई चित्त बुझेको छैन। 'बुद्धि तीन घण्टामा जाँचिदैन, ज्ञान दिने र पाउने पद्धति विकास गर्नुपर्छ,' ढुंगेलले भने। 
...
काठमाडौं, ललितपुरको सडक विस्तारको नेतृत्व लिएर चर्चामा रहेको उपत्यका विकास प्राधिकरणका निमित्ति प्रमुख छन्, भाइकाजी तिवारी। 
उनी २०२९ सालमा अंग्रेजी विषय लागेर एसएलसी फेल भए। त्यसपछि २/३ वर्ष पढ्नै छोडे। 
फेरि स्कूल भर्ना भए। २०३४ सालमा फेरि एसएलसी दिए। बोर्ड फिफ्थ भए। पुल्चोक इन्जिनियरीङ कलेजबाट सिभिल इन्जिनियरीङमा डिस्टिङ्सन ल्याए।
शिक्षा मन्त्रालयको स्कलरसीपमा रसियामा एमएस्सी गर्न गए। २०४४ सालदेखि सरकारी सेवामा प्रवेश गरेका उनी उपत्याकाको विकास गर्ने सरकारी संस्थाको नेतृत्वमा छन्।
'म एसएलसीमा फेल नभएको भए यहाँसम्म आइपुग्ने थिँइन,' तिवारीले भने 'फेल हुनुले करिअरमा कुनै असर गर्दैन, हरेश खानु हुँदैन।'
...
सेतोपाटीसँंगको कुराकानीमा सबैले एसएलसीलाई 'फलामे ढोका' भनेर चित्रण गर्ने चलनलाई अब बदल्नु पर्ने बताए।
'सानोतिनो जित हार'को नाममा  बालबालिकाले जीवनलाई नै अध्याँरो देख्ने शिक्षा पद्धति र समाजको सोच फेर्नुपर्ने उनीहरुको  साझा तर्क छ।
एसएलसी फेल भएर पनि आफ्नो कर्मक्षेत्रमा अव्वल भएकाहरुको संख्या ठूलो छ। युवा निर्देशक अनुप वराल पनि त्यसको सशक्त उदाहरण हुन्।



 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.